क्यानका कार्यवाहक सचिव मल्लद्वारा राजीनामा

क्यानका कार्यवाहक सचिव मल्लद्वारा राजीनामा


नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन् ।

नेपाल टी–ट्वान्टी लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका प्रशान्तले लिगमा विभिन्न विवादका कारण आलोचनापछि मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । यद्यपी उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको क्यानका एक पदाधिकारीले जानकारी दिए । गतवर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो ।

नेपाल टी–२० लिगमा प्रक्रियासंगत निर्णय नलिँदा विवाद भएको तथा कार्यसम्पादन समितिको नाममा पदाधिकारीको मनोमानी बढेको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यहरुले मंगलबार अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा मागेका थिए ।

पोखरामा जारी क्यान बोर्ड बैठकमा १६ एजेण्डाहरुबारे छलफल हुँदैछ । नेपाल टी–२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले सम्झौता रद्ध गर्दै पठाएको पत्रका बारेमा पनि बैठकमा छलफल हुँदै छ । पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको नेपाल टी–ट्वान्टी लिगको स्पट फिक्सिङ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीसँगको सम्झौता क्यान नेतृत्वको जानाजान गरेको गल्ति भएको आरोप लागेको छ  ।

स्पट फिक्सिङको आरोपमा सीआईबीले पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

Logo