राष्ट्रिय सभा उपाध्यक्षबारे अन्य दलसँग छलफल गरेर अघि बढ्ने काँग्रेसको निर्णय

राष्ट्रिय सभा उपाध्यक्षबारे अन्य दलसँग छलफल गरेर अघि बढ्ने काँग्रेसको निर्णय


नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाली काँग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको बताए । उनले संसदभित्रको व्यस्तताका कारण केन्द्रिय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताए । उनले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा काँग्रेस रहेको बताए ।

उनले भने, ‘नेपाली काँग्रेसको कार्य समितिको बैठक बस्यो । आगामी २२ गते राष्ट्रिय सभाको उपाध्यक्षका निमित्त उम्मेदवारी दर्ता गर्ने र २३ गते निर्वाचन हुने कार्यक्रम रहेको छ । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनको बारेमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेका छौँ । अर्को नेपाली काँग्रेस संसदीय दलको बैठक यही माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेका छौँ । संसद भित्र व्यस्तता भएकाले केन्द्रिय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको छ । राष्ट्रिय सभाको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा पनि हामी अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा छौँ ।’

यस्तै, प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति÷उपराष्ट्रपति र सभामुख÷उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले सोही अनुसार वार्ताका लागि बोलाए काँग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको पनि बताए । उनले प्रधानमन्त्री सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रश्ताव र एजेण्डा बाहिरिएपछि काँग्रेस छलफलका लागि जाने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति भनिरहनुभएको छ । उहाँले सर्वदलीय बैठकमा पनि भन्नुभएको थियो । हामी सहमति गरेर जाने कुराको बारेमा छलफल गरेर जान तयार छौँ । उहाँको प्रश्ताव, एजेण्डा के हो भन्नेबारेमा सोचिरहनुभएको छ होला, हामी छलफलका लागि तयार छौँ, आफैँ पनि राष्ट्रपतिको निर्वाचनका लागि तयारी गरिरहेका छौँ ।’ प्रमुख सचेतक लेखकले नेपाली काँग्रेस राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको बताए । 

Logo