कास्की २ का उमेदवारलाई चुनावी चटारो

उमेश रेग्मी । पोखरा ।  आगामी मंसिर १४ गते देशैभर खाली भएका ठाँउमा हुन लागेको उपनिर्वाचनका लागि कास्की २ तातिरहेको छ ।विहिवार उमेद्वारी दर्ता गराए सँगै पार्टीहरूले आआफ्ना उमेदवारलाई जिताउनका लागि भोट माग्दै घर दैलो अभियान सुरु गरिसकेका छन् ।

तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएपछि खाली भएको ठाँउमा उनकी पत्नी विद्या भट्टराईलाई नेकपाले उमेदवार बनाएको छ । त्यस्तै नेपाली कांग्रेसका तर्फबाट खेमराज पौडेल चुनावी मैदानमा देखिएका छन् । साझा पार्टीबाट रजनी केसीलाई मैदानमा उतारिएको छ । सबैले आफूले जित्ने कुरामा ढुक्क रहेको कुरा बताएका छन् ।

नेकपाका उमेदवार विद्या भट्टराई आफ्ना पतिले गरेको कामलाई आधर बनाएर चु्नावी दौडमा लागेकी छिन् । जसका कारण आफ्नो जित सुनिश्चित भएको बताउछन् । आफू सहानुतिको जितले नभै जनताको मन जित्न प्रतिस्पर्धामा आएको बताइन् ।

त्यस्तै नेपाली काङ्ग्रेसका उमेदवार खेमराज पौडेल सरकारले बोले अनुसारको काम नगरेकाले अब नेकपालाई जनताले विश्वास नगर्ने कुरा तथा आफ्नो जित सुनिश्चित भएको बताउंछन् । उनी भन्छन्-  ‘जनताहरू नेकपाको रवैया देखेर दिक्क भइसकेका छन् । निर्वाचन जितेर सरकार ढाल्न नभई जनताले चाहेअनुसारको बलियो प्रतिपक्षी बन्न र जनताले चाहेअनुसारको काम गर्न खोजेकाले आफूहरूले चुनाव जित्ने पक्का छ ।’

साझा पार्टीको तर्फबाट उमेदवार बनेकी रजनी केसी पनि आफूले नै चुनाव जित्ने कुरामा विश्वस्त रहेको बताउछिन् । उनी भन्छिन्- ‘नेकपा तथा काङ्ग्रेसबाट जनता आक्रान्त छन् । सरकारको कुनै भर छैन । दिनानुदिन महंगी बढिरहेको छ । जनताले अबको विकल्प भनेको हामीलाई नै रोज्छन् र चुनाव हामीले नै जित्छौँ ।’ सरकारलाई सही दिशामा हिँडाउने कुरामा हामी कटिबद्ध छौं तथा हाम्रो जनताप्रति लगाव छ, उनले भनिन् ।

कास्कीमा १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका २१ उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल कम्युष्टि पार्टी (नेकपा)बाट विद्या भट्टराई, नेपाली काङ्ग्रेसबाट खेमराज पौडेल, नेपाली काङ्ग्रेस (विपी) बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिष्ट पार्टी (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ र मङ्गोल नेशनल अर्गनाइजेशनबाट रियाज गुरुङ छन् ।

त्यस्तै साझा पार्टीबाट रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, राष्टिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट श्रीमती गङ्गा मल्ल छन् ।

यस्तै स्वतन्त्र उम्मेदवारहरूमा उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी र नवराज बाँस्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनील भुषाल छन् ।

कास्की २ का उमेदवारलाई चुनावी चटारो