रोकेर राखिएको मालबाहक ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

रोकेर राखिएको मालबाहक ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु


झापामा रोकेर राखिएको मालबाहक ट्रकमा पछाडिबाट आएको अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

झापाको शिवसताक्षी नगरपालिका–१ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा बिहिबार राति दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। च्यापिएको अवस्थामा रहेका उनीहरूको शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार उद्धारका लागि तीन वटा जेसिबी परिचालन गरिएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका दुई वटा मालवाहक ट्रकमध्ये ना ५ ख ८३११ मा रड लोड भएको थियो। यो ट्रक ना ६ ख ८८९५ रोकेर राखिएको ट्रक भन्दा पछाडि आउँदै थियो। रातीको समयमा बाक्लो हुस्सुका कारण बाटो प्रष्ट नदेखिँदा रोकेर राखिएको ट्रकमा पछाडिबाट आउदै गरेको अर्को ट्रक ठोकिएको स्थानीयवासीले बताएका छन्।

प्रहरीकाअनुसार रड लोड भएको ट्रकका चालक र सह–चालकको मृत्यु भएको हो। मृतकमध्ये चालक सुनसरी झुम्काका ३५ वर्षिय मदन चौधरी रहेका छन्। सहचाकको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। सिमेन्टको कच्चा पदार्थ बोकेको ट्रक इन्धन सकिएर सडकमा रोकेर राखिएको थियो ।

Logo