रवि लामिछानेको सत्ता मोहले गठबन्धन धरापमा, ओली-प्रचण्ड आमनेसामने [भिडियाेसहित]

रवि लामिछानेको सत्ता मोहले गठबन्धन धरापमा, ओली-प्रचण्ड आमनेसामने [भिडियाेसहित]


सर्वोच्च अदालतको फैसलापछि नयाँ नागरिकता लिएसँगै गैरसांसदका रुपमा पुनः गृहमन्त्रालय फर्कन रवि लामिछानेले निकै कसरत गरिरहेका छन् । कहिले बालकोट त कहिले बालुवाटार पुग्नु उनको दैनिकीजस्तै बनेको छ । यतिसम्म कि अब त प्रधानमन्त्री कार्यालयमा पुगेर उनी “भरे भोलि नै सपथ गराउनुपर्छ, हुँदै हुँदैन” भन्दै झगडा सम्म गर्न थालेको समाचारहरु सार्वजनिक भएका छन् । यतिबेला सञ्चारमाध्यम होस् वा सामाजिक संजाल, चिया पसल होस् वा सिंहदरबार । जताततै रविकै चर्चा छ । उनीमाथिको आरोप पुष्टि भइसक्दा पनि उनी जिद्धी स्वभावमा उत्रिएको तथा संयमित नभएर सत्ताको लागि मरिहत्ते गरेको भन्दै आलोचित भएका छन् । 

लामिछाने पुनः गृहमन्त्री बन्न साम, दाम, दण्ड, भेद सबै उपाय अपनाइरहेका छन् । नागरिकतामा दोषी ठहर भएपछि पदमुक्त भएका उनले पार्टी सभापतिमा चयन भएपछि गृहमन्त्री बन्न राजनीतिक दौडधुप सुरु गरेका हुन् । सर्वाेच्च अदालतको फैसलासँगै सांसद, मन्त्री, पार्टी सभापति पद गुमाएका लामिछानेले आइतबार संवैधानिक व्यवस्था अनुसार पुनः नेपाली नागरिकता प्राप्त गरेका थिए । लामिछाने अदालतको फैसलाको पूर्णपाठसमेत प्रतीक्षा गर्न तयार छैनन्  । 

नागरिकता लिएलगत्तै उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका छन् । तर राज्यले गर्ने अनुसन्धान पूरा भएको छैन । उनी गृहमन्त्री भएपछि अनुसन्धान रोकिएको थियो ।

रास्वपाका सभापति लामिछानेले गृहमन्त्रीमा पुनर्वहाली गर्न आग्रह गर्दै सोमबार बिहान पनि प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेरै भेटेका थिए । उता एमालेले पनि गठबन्धनभित्रको सहमतिअनुसार रास्वपालाई गृह मन्त्रालय दिन प्रचण्डमाथि दबाब बढाएको छ । आइतबार साँझ एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्तामा पनि रविलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न ओलीले प्रचण्डलाई दबाब दिएका थिए । गृहमन्त्रीमा दोहोरिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि लगातार दबाब बढाइरहेका रवि लामिछानेले मंगलवार बालुवाटारमा प्रधानमन्त्रीसँग चर्काचर्की भएको खुलेको छ । माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष र लामिछानेको भूमिकाप्रति असन्तुष्टि जनाउँदै छन् ।

दोहोरो राहदानीको विषयमा प्रहरी प्रशासनले उनीमाथि अनुसन्धान पूरा गरेको छैन, तर तालुकवाला मन्त्रालयको नेतृत्वमा पुगेर अनुसन्धान प्रभावित गर्न खोजेको भन्दै गठबन्धनभित्र र बाहिर पनि विरोध भइरहेको छ  । तर, सार्वजनिक आलोचनाको वास्तै नगरी शक्तिमा पुग्न उनी आतुर देखिएका छन् । स्वार्थ बाझिने र नागरिकता विवादमा सर्वोच्चको पूर्णपाठ समेत आइ नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले रविलाई गृह मन्त्री बनाउन आनाकानी गरेपछि अब के होला भन्ने चासो बढ्न थालेको छ । सांसद मन्त्री पद गुमाएको ४८ घण्टाभित्रै पार्टी सभापति बनेका रवि लामिछानेले पुनः गृह मन्त्रालयमा दाबी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ समस्यामा परेका छन् । गृह मन्त्रालय नपाए गठबन्धन छाड्ने चेतावनी दिन बालुवाटार पुगेका रविले आफूलाई गैर सांसदको रुपमा गृहमन्त्री नियुक्त गर्न आग्रह गरे । तर, रविको आग्रहमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक हुन सकेका छैनन् ।

सर्वोच्चबाट फैसलाको पूर्णंपाठ आउन बाँकी रहेको, राहदानी विवादमा प्रहरीले अनुसन्धान गरिरहेको र सांसद पद पनि नरहेका कारण मन्त्री बनाउन नैतिक रुपमा पनि अप्ठ्यारो हुने भन्दै प्रचण्ड मन्त्री नियुक्त नगर्ने अडानमा छन् । तर, प्रचण्डको अडानपछि रविले यस्तो नगरिए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । राहदानी विवादमा अहिले प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ । एकैसाथ अमेरिकी र नेपाली राहदानी प्रयोग गरेको आरोप रविमाथि छ ।

निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेर उनले नेपाली राहदानी लिएपछि रवि थप विवादमा पर्ने देखिएको कानुनविदहरुको भनाइ छ । हुन त उनले नागरिकता पुनः प्राप्त गरेपछि विभागमा पुगेर पुरानो राहदानी फिर्ता गरिसकेका छन् ।

यद्दपि रविले आफूलाई नै गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब दिएपछि उनीविरुद्ध आलोचना हुन थालेको छ । नागरिकता प्राप्त गरेपनि फैसलाको पूर्णपाठ समेत आउन नदिई मन्त्री बन्न दौडधुप गर्नुले रविको नैतिकता र राजनीतिक इमान्दारितामाथि प्रश्न गर्न थालिएको छ । उनी आफूबाहेक रास्वपाका अन्य १९ सांसदलाई गृहमन्त्री बनाउन पटक्कै चाहँदैनन् । हिजोका दिनमा उनी सञ्चारकर्मी हुँदा सामाजिक सञ्जालमा मन्त्रीहरुलाई लक्षित गरेर लेखेका आलोचनात्मक स्टाटसहरु अहिले चर्चामा आउन थालेका छन् । उनको ठाउँमा अरु कोही नेता भएको भए र उनी अहिले सञ्चारकर्मी नै भएको भए के गर्थे होलान् ? भनेर सामाजिक सञ्जालमा प्रश्नको ओइरो छ । 

नेपालको कानुन अनुसार फर्जी कागजात प्रयोग गरी राहदानी बनाए २ देखि ५ लाख रुपैयाँ जरिवाना, १ देखि ३ वर्ष कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ । अध्यागमन कानुन अनुसार कसैले आफ्नो नाम, उमेर, राष्ट्रियता वा अन्य कुनै कुरा ढाँट्न, झुठ्ठा विवरण दिन वा जाली राहदानी वा भिसा प्रयोग गर्ने गराउने गरेमा ७५ हजार रुपैंयासम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।

Logo