कास्कीका ११ वटै वडामा नेकपाका चुनाव परिचालन कार्यालय स्थापित

कास्की,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न चुनावी प्रचार अभियानलाई तीव्र पारेको छ । नेकपाले उम्मेदवारसहित घरदैलो कार्यक्रमसँगै चुनाव प्रचारलाई व्यवस्थित र प्रभावकारी बनाउन २ नम्बर क्षेत्रमा पर्ने महानगरका ११ वटै वडामा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ ।

पोखरा महानगरका वडा नं ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३, मा चुनाव परिचालन वडा कमिटीको कार्यालय स्थापना गरेको नेकपा चुनाव प्रचारप्रचार उपसमितिका संयोजक त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चुनाव हुने सबै वडामा चुनाव परिचालन कार्यालय स्थापना गरिएको हो । वडा कार्यालय स्थापनासँगै चुनावी प्रचार अभियान टोलटोलमा पुग्ने नेकपाले बताएको छ । नेकपाले चुनाव लक्षित गरेर गत कात्तिक २२ पोखरा सभागृहमा कार्यकर्ता प्रशिक्षण कार्यक्रलम गरिसकेको छ भने उम्मेदवार विद्या भट्टराई अधिकारीसहित वडा नं १५, ३३ मा घरदैलो कार्यक्रम पनि भएको छ ।

वडा नं २१ मा अहिले उम्मेदवार भट्टराईसहित घरदैलो कार्यक्रम भइरहेको छ । उम्मेदवार भट्टराईसहित नेकपा गण्डकीका सहइञ्चार्ज खगराज अधिकारी, पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल लगायतका नेताहरु पनि घरदैलो कार्यक्रममा सहभागी छन् ।

वडा नं २० को भलाम र मौजामा पनि चुनाव परिचालन कमिटी स्थापना भएको छ । साविकका भलाम गाविस र मौजा गाविसको दुवै ठाउँमा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरिएको हो । भलामको कार्यालयको महानगर कमिटीका सचिव विश्वकाप्रकाश लामिछाने र मौजा कार्यालयको साविक मौजा गाविसका पूर्वअध्यक्ष चित्रबहादुर गुरुङले उद्घाटन गर्नुभएको प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य श्रीराम सिग्देलले जानकारी दिनुभयो ।

रवीन्द्र अधिकारीले निर्वाचनमा ह्याट्रिक गरेको उक्त क्षेत्रमा त्यही विरासतलाई कायम गर्ने गरी नेकपा चुनावी प्रचार अभियानमा जुटेको हो । अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि हुन लागेको उपनिर्वाचनमा जितको मतान्तरलाई अझ बढाउने गरी चुनावी रणनीति बनाएर नेकपा चुनावमा होमिएको छ । उदीयमान नेता गुमाउनुको शोकलाई शक्तिमा बदलेर अधिकारीको अधुरो सपना पूरा गर्न उनको उत्तराधिकारीका रुपमा पत्नी विद्यालाई चुनावी मैदानमा उतारेर मतान्तरलाई १३ हजार पु¥याउने लक्ष्य लिएर चुनावी प्रचारमा जुटेको उम्मेदवार व्यवस्थापन उपसमितिका संयोजक धनराज आचार्यले बताउनुभयो ।

बागलुङमा उम्मेदवारी फिर्ता भएन

बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा १० उम्मेदवार प्रतिस्पर्धामा उत्रने भएका छन् । बिहीबार मनोनयन दर्ता गराएका मध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मका लागि उम्मेदवारको नाम फिर्ता लिने समय तोकेको थियो । “कसैको पनि उम्मेदवारी फिर्ता भएन, सोही अनुसार अन्तिम नामवली प्रकाशन हुन्छ” कार्यालयले भन्यो । निर्वाचन तालिका अनुसार आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र मङ्सिर १४ गते मतदानको कार्यक्रम छ । जिल्लामा दलबाट आठ र स्वतन्त्ररूपमा दुई जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रूपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी रहनुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेश बहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रूपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा हुनुहुन्छ ।

बागलुङ–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गतवर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । प्रदेशसभा सदस्यसँगै बडिगाड गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि समेत उपनिर्वाचन हुँदैछ ।

कास्कीका ११ वटै वडामा नेकपाका चुनाव परिचालन कार्यालय स्थापित