मर्जर प्रक्रियामा बीमा कम्पनीहरु

मर्जर प्रक्रियामा बीमा कम्पनीहरु


पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुले विभिन्न बैंक तथा बीमा कम्पनीहरुसँग एकीकृत कारोबार बढाउँदै गएका छन् । 

नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि विभिन्न १९ वटा बीमा कम्पनीहरुले एक आपसमा मर्जमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । जसमध्ये हिमालयन एभरेष्ट (हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स), सानिमा जीआईसी (सानिमा जनरल र जनरल इन्स्योरेन्स) र सूर्यज्योति लाइफ (सूर्य लाइफ र ज्योति लाइफ) ले एकीकृत कारोबार गरेका छन् । 

मर्जरको प्रक्रियामा रहेका बीमा कम्पनीहरु कुन-कुन हुन् ?

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीले मर्जरको लागि मंगलबार अन्तिम सम्झौता गरेका छन् । लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता अनुसार दुबै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमति भएको छ । मर्जर सम्बन्धी बिशेष प्रस्ताव दुबै कम्पनीको आगामी साधारण सभामा लगिनेछ ।

सिद्धार्थ र प्रिमियर
निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले पनि मर्जरमा जान प्रारम्भिक सम्झौता गरिसकेका छन् । यी कम्पनीले गत असार २७ गते बराबरी हैसियतमा एक आपसमा मर्ज हुने गरी सम्झौता गरेका हुन् । 

ज्योति लाइफ र सूर्य लाइफ
जीवन बीमा तर्फका ज्योति लाइफ इन्स्योरेन्स र सूर्य लाइफ इन्स्योरेन्स पनि मर्जरको अन्तिम चरणमा पुगिसकेका छन् । उनीहरु एक आपसमा मर्ज हुनका लागि असार १२ गते प्रारम्भिक समझदारी गरेका हुन् । यी दुई कम्पनी एक बराबर शून्य दशमलव ८२ को अनुपातको रेसियोमा मर्ज हुने भएका हुन् । मर्जपश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स हुनेछ । 

प्राइम, गुराँस र युनियन लाइफ
जीवन बीमा कम्पनीमध्ये प्राइम, गुराँस र युनियन लाइफले सबैभन्दा पहिले मर्जर सम्झौता गरेका हुन् । यी कम्पनीले गत बैशाख २९ गते नै एक आपसमा गाभिने सम्झौता गरेका थिए । तर हालसम्म पनि यी कम्पनीले मर्जरको प्रक्रिया टुङ्गाउन सकेका छैनन् । 

महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्स
प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्जर प्रकृयामा छन् । मर्जरमा जान गत असार ३० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका यी दुबै कम्पनीले मर्जर प्रकृया अघि बढाइरहेका छन् ।

रिलायन्स र सानिमा लाइफ
रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स पनि मर्जरको अन्तिम चरणमा छन् । यी दुई कम्पनी समान हैसियत अर्थात स्वाप रेसियो १ बराबर १ को अनुपातमा मर्ज हुन लागेका हुन् । सो सम्बन्धमा दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

नेपाल बीमा प्राधिकरण (बीमा समिति)ले पुँजी वृद्धि गर्न निर्देशन दिएपछि अजोड र प्रभु इन्स्योरेन्सले असार ३२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

प्रभु र अजोड इन्स्योरेन्स
प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड पनि एक आपसमा गाभिने भएका छन् । त्यसका लागि दुवै बीमा कम्पनीहरुले असार ३२ गते नै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Logo