बंगलादेशका राष्ट्रपति हमिद आज काठमाडौँ आउँदै

file photo

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (मंगलबार) काठमाडौँ आउँदैछन्।

चारदिने नेपाल भ्रमणको शिलशिलामा हमिद दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणमा तीन दशकपछि बंगलादेशबाट यो स्तरको द्विपक्षीय भ्रमण हुन लागेको हो।

हमिदको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ । दुवै देशका राष्ट्रपतिको तस्बिर सडकका पोलपोलमा लाम लगाएर राखिएको छ। ठाउँठाउँमा विभिन्न खालका स्वागत झल्कने सामग्री पनि राखिएको छ। राजधानीका पर्यटकीय तथा ऐतिहासिक स्थलमासमेत दुई देशको सम्बन्ध झल्काउने गरी सिँगारिएको छ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि राष्ट्रपति हमिदले भेटवार्ता गर्नेछन्।

बङ्गलादेश र नेपालबीच सन् १९७२ अप्रिल ८ देखि द्विपक्षीय सम्बन्ध कायम भएको हो ।

बंगलादेशका राष्ट्रपति हमिद आज काठमाडौँ आउँदै