पाँच वर्षमा एक खर्ब ३७ अर्बको मोबाइल आयात, गत वर्ष मात्रै ३७ अर्ब बढी बाहिरियो

पाँच वर्षमा एक खर्ब ३७ अर्बको मोबाइल आयात, गत वर्ष मात्रै ३७ अर्ब बढी बाहिरियो


नेपालमा विगत पाँच वर्षमा एक खर्ब ३७ अर्ब रुपैँया बराबरको मोबाइल फोन आयत भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आव २०७४–७५ देखि २०७८–७९ सम्मको पाँच वर्षको अवधिमा मोबाइल आयातका लागि सो बराबरको रकम खर्च भएको हो । उक्त रकम खर्च गरेर दुई करोड ७५ लाख थान मोबाइल आयात गरिएको तथ्याङ्क छ । विगत पाँच वर्षमा मोबाइल आयातमा भएको खर्चका आधारमा प्रत्येक वर्ष २७ अर्ब ४६ करोड रुपैँया मोबाइल आयातमा बाहिरिएको देखिन्छ ।

मोबाइल आयातबापत सरकारले वार्षिक औसत चार अर्ब ३३ करोड रुपियाँ बराबर राजस्व पनि सङ्कलन गरेको छ । यस हिसाबले विगत पाँच वर्षमा सरकारले मोबाइल आयातबापत २१ अर्ब ६४ करोड रुपियाँ भन्सार राजस्व सङ्कलन गरेको छ । यो पाँच वर्षको अवधिमा आव २०७७–७८ मा सबैभन्दा धेरै मोबाइल आयात भएको छ । तथ्याङ्कअनुसार उक्त आर्थिक वर्ष करिब ३७ अर्ब रुपियाँ बराबरको ७० लाख थान मोबाइल आयात भएको थियो ।

यसैबिच, उक्त पाँच बर्षको अवधिमा करिब १५ हजार मोबाइल हराएको पाइएको छ । प्राधिकरणका अनुसार विगत पाँच वर्षमा सो बराबरका मोबाइल हराएको आवेदन प्राप्त भएको हो । सबैभन्दा धेरै गत आर्थिक वर्षमा मात्रै १० हजार मोबाइल हराएको निवेदन प्राधिकरणले प्राप्त गरेको थियो ।

Logo