उपनिर्वाचन: सिके राउतदेखि विप्लवसम्म

मङ्सिर १४ गते हुने उपनिर्वाचनको सरगर्मी बढ्दो छ । निर्वाचन आयोगले आज स्थानीय तहको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तय गरेको छ । सोही बमोजिम आज उपनिर्वाचन हुने स्थानीय तहहरुमा बाजागाजासहित विभिन्न दल र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरएका छन् ।

हालै मूलधारको राजनीतिमा आएका सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो पटक निर्वाचनमा होमिएको छ । सो पार्टीको तर्फबाट महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि नेतृ अञ्जलीदेवी मण्डलले बुधबार मनोनयन दर्ता गरेकी हुन् । संघ र प्रदेशसभा क्षेत्रमा उम्मेदवारी नदिएको जनमत पार्टीले स्थानीय तहमा भने उम्मेदवारी दिएको हो ।

गत वैशाखमा पिपराका अध्यक्ष विनोदकुमार चौधरीको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।

त्यस्तै प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि उपचुनावमा भाग लिएको छ । थवाङ गाउँपालिका–१ को वडाध्यक्षका लागि विप्लव निकट भद्रबहादुर झाँक्रीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै सत्तारुढ नेकपाबाट जनकबहादुर बुढा र नेपाली कांग्रेसबाट कमल रोकाले उम्मेदवारी दिएका छन् ।

तत्कालिन वडाध्यक्ष फर्कबहादुर बुढाको गत असारमा निधन भएपछि उपनिर्वाचन हुन लागेका हो ।

उपनिर्वाचन: सिके राउतदेखि विप्लवसम्म