पाँच वर्षमा पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्‍याउने

पाँच वर्षमा पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्‍याउने


सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पु-याउने लक्ष्यसहित ‘पश्‍मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक गरेको छ ।

मंगलवार ललितपुरमा भएको एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले  सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पु-याउने लक्ष्यसहित ‘पश्‍मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ योजना सार्वजनिक गरेका हुन् । निजी क्षेत्रको आपूर्ति क्षमता अभिवृद्धि गर्ने तथा हिमाली च्याङ्ग्रा पश्मिनाको निर्यात बढाउन र पश्मिनाको उत्पादनलाई विश्‍व बजारमा पु-याउने उद्देश्य सरकारको रहेको छ । 

राष्ट्रिय पश्मिना क्षेत्र निर्यात रणनीति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टिइपिसी) तथा नेपाल पश्मिना उद्योग संघ (एनपिआइए) सँगको सहकार्य र युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा रहेको छ । 

कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले प‍श्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजनाले पश्मिना उद्योगको विकास र बिस्तारमा ठूलो टेवा पुग्ने बताए । उनले नेपालमा पहिलो पटक नेपाली च्याङ्ग्राको उनलाई प्रशोधन गरी पश्मिनाको धागो उत्पादन गर्ने कारखाना बन्न लागेको भन्दै नेपाली च्याङ्ग्राको उनले उचित मूल्य पाउने विश्वास व्यक्त गरे । 

मन्त्री भण्डारीले नेपालमा नै च्याङ्ग्राको उनलाई प्रशोधन गर्न सकिने भएकाले स्वदेशमा उचित मूल्य,बजार सुनिश्चितता हुने र उत्पादन बढ्ने दाबी गरे । उनले  नेपालभित्र पश्मिनाको धागो उत्पादन गरी पश्मिनाजन्य वस्तुको उत्पादन र गुुणस्तर बढ्ने बताए । रणनीति योजनाले पश्मिना क्षेत्रले भोगिरहेको समस्या र चुनौतिको समाधान गरी पाँच वर्षभित्र लक्ष्यअनुसार निर्यात गर्ने उनले प्रतिवद्धता जनाए ।  

त्यस्तै उद्योगसचिव मधुकुमार मरासिनीले च्याङ्ग्राको उन उत्पादन बढाउन हिमाली जिल्लाहरुमा च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्दा स्थानीय स्तरमा रोजगारीको सिर्जना  हुने र किसानले उचित मूल्य पाउने बताए । उनले नेपालमा च्याङ्ग्राको उन ठूलो परिणाममा उत्पादन गर्न नसकिएको बताए । 

सचिव मरासिनीले निर्यातजन्य वस्तुहरुको उत्पादन वृद्धिका लागि प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै मन्त्रालयले त्यहीअनुसार योजनाहरु बनाइरहेको पनि बताए । उनले निर्यातजन्य नेपाली वस्तुहरुको पहिचान गर्नसके मात्रै पनि विदेशमा निर्यात गरेर धेरै विदेशी मुद्रा आर्जन गरी व्यापार घाटा कम गर्न सकिने उल्लेख गरे । 

Skip This
Logo