#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20072821734821640789312930107
नेपाल2331079673816493

पाकिस्तान सुपर लिगको ड्राफ्टमा सन्दीप विदेशी खेलाडीको प्लाटिनम श्रेणीमा पर्न सफल

नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा बलर सन्दीप लामिछाने सिजन २०२० को पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा समावेश भएका छन्। ड्राफ्टमा सन्दीप विदेशी खेलाडीको प्लाटिनम श्रेणीमा परेका छन्।

सन्दीपसँगै २८ जना विदेशी खेलाडी प्लाटिनम श्रेणीमा समावेश गरिएका छन्।

ड्राफ्टबाट टिममा छनोट हुन सफल भएमा खेलाडीले कम्तिमा १ लाख ४७ हजार डलर (१ करोड ६९ लाख रुपैयाँ) देखि २ लाख १८ हजार डलर (२ करोड ५१ लाख रुपैयाँ) प्राप्त गर्नेछन्।

सन्दीप अहिलेसम्ममा बढी रकममा आबद्ध भएको ‘द हन्ड्रेड’ लिगमा हो। आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने ‘द हन्ड्रेड’ (१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता) मा ओभल इन्भिसिबल्समा सन्दीप १ लाख पाउन्ड (१ करोड ४७ लाख २५ हजार रुपैयाँ) मा आबद्ध भएका थिए।

आगामी फेब्रुअरीमा पाकिस्तानमा हुने पिएसएलको खेलाडी छनोटका लागि नोभेम्बरको अन्त्यमा हुने ड्राफ्टमार्फत पिएसएलका ६ टिमले खेलाडीहरूलाई आआफ्नो टिममा आबद्ध गर्नेछन्।

पिएसएलमा इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, लाहोर कलन्दर्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टस नामका ६ टिम छन् ।

हरेक टिमले ३ जना प्लाटिनम, ३ जना डाइमन्ड, ३ जना गोल्ड, ५ जना सिल्भर र २ जना इमर्जिङ क्याटागोरीमा रहेका खेलाडी आबद्ध गर्नु पर्नेछ।

एक टिमले कम्तिमा १६ खेलाडी राख्नु पर्ने नियम छ। जसमा ११ जना पाकिस्तानी र ५ जना विदेशी खेलाडी टिममा आबद्ध गर्न पाइनेछ। यस्तै थप २ जना खेलाडी आबद्ध गर्नु परेमा १ जना पाकिस्तानी र १ जना विदेशी खेलाडी राख्न सकिनेछ ।

गत सिजनमा सन्दीपले लाहोर कलन्दर्सबाट खेलेका थिए।

सन्दीपबाहेक ड्राफ्टमा नाम समावेश गर्नका लागि पाँच जना नेपाली क्रिकेटर सिफारिस गरिए पनि उनीहरूको नाम ड्राफ्टमा पर्ने वा नपर्ने निश्चित छैन।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार