परासी । ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ हरकट्टास्थित सुनौलीदेखि काठमाडौँ जाँदै गरेको लु२ख २८४५ नंको यात्रुवाहक बसमा सवार चितवन जिल्लाको रामपुर नगरपालिका–१ का १८ वर्षीय अवि तामाङलाई शङ्का लागेर चेकजाँच गर्दा लागुऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
तामाङको साथबाट डाइजोपाम १५० एम्पुल, फेनारागन १७५ एम्पुल, नुफ्रिन १२५ एम्पुल, नाइट्राजेपाम ४८ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बुधबार पक्राउ परेका तामाङविरुद्ध लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको छ । रासस