एमालेले प्रस्ताव गरेको राष्ट्रपतिलाई हराएरै छाड्छौँ -गगन थापा

एमालेले प्रस्ताव गरेको राष्ट्रपतिलाई हराएरै छाड्छौँ -गगन थापा


नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन् ।

महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको जिकीर समेत गरे । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढने बताए । महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर काँग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने बताए ।

उनले भने, ‘राष्ट्रपतिका आँखा लाउलास भन्नु हुन्छ साथीहरु । ठिकै हो । त्यो पनि कुरा । तर नेपालको राष्ट्रपतिको संस्था गएको केही वर्षहरुमा हामीले कस्तो बनाएका छौं ? मन लाग्दाखेरी हामीले संविधानलाई मिच्न पाउने । हामीले संसद विघटनको बेलामा हे-यौ । सम्माननीय राष्ट्रज्यू समक्ष अडकिएको विधेयक र यो सरकारले निर्वाचनपछाडि लिएर गएको अध्यादेश । यी दुई वटा विषयमा मेरा आफ्ना मतहरु छन । जसलाई मैले संसदमा पनि राखेको छु ।’ यस्तै, महामन्त्री थापाले नेकपा एमाले नेतृत्वले राष्ट्रपति कस्तो हुन्छ भन्दै प्रश्न पनि गरे ।

उनले भने, ‘एमाले नेतृत्वले बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ ? त्यो राष्ट्रपतिलाई सम्माननीय कठपुतली राष्ट्रपति भनि दिए हुन्छ । त्यसले के गर्छ ? यो सरकारको कुरा होइन है । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले विस्तार दुई शक्ति केन्द्र हुन्छ । एउटा बालुवाटार, अर्को शीतल निवास हुन्छ । अनि बालुवाटारबाट कार्यअधिकार प्रयोग गर्ने ठाउँबाट शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ । र, एक ठाउँमा गएर ठोक्किन्छ । र, त्यसले संविधानलाई दूर्घटनामा लिएर जान्छ । त्यो संविधानलाई दुर्घटनामा लिएर जाने डरले गर्दा नेपाली काँग्रेसले हामीले लुकाउने कुरा छ र ? हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं । र, हराएरै छाडछौं ।’

महामन्त्री थापाले विगतका राष्ट्रपतिहरुको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरु रहेको उल्लेख गरे।

Logo