लुम्बिनीमा त्रिपिटक वाचन शुरु

बुद्धजन्मस्थल लुम्बिनीमा बिहीबारदेखि अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु भएको छ ।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा प्रदेश पाँच सरकार, शाही थाइ मन्दिर र लुम्बिनी विकास कोषको सहकार्यमा त्रिपिटक वाचन  गरिएको हो । अन्तर्राष्ट्रिय जगत्मा बुद्ध जन्मस्थलको थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले त्रिपिटक बाचन गरिएको हो ।
विगत १६ वर्षदेखि भारतको बोधगयामा हुँदै आएको पाठ अघिल्लो वर्षबाट बुद्ध जन्मस्थल लुम्बिनी सुरु गरिएको आयोजक संस्था अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए । त्रिपिटकको उद्घाटन गर्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी विश्व शान्तिको मुहान भएको बताए ।

पोखरेलले त्रिपिटक वाचनले विश्व जगतमा शान्ति, सद्भाव र भातृत्वको सन्देश जाने बताए । भगवान बुद्धद्वारा निर्देशित उपदेश त्रिपिटक सामूहिक रुपमा तीन दिनसम्म पाठ गरिने छ ।

त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलंका, म्यानमार, कम्बोडिया, थाइल्याण्ड, चीन, कोरिया, जापान लगायत २५ देशका एक हजार बौद्ध भिक्षुको सहभागिता रहेको छ ।

लुम्बिनीमा त्रिपिटक वाचन शुरु