रुपाकोट पुगेपछि राष्ट्रपति हमिदले भन्नुभयो – आइएम भेरी ह्याप्पी, दिस इज नाइस प्लेस !

file photo

काठमाडौँ,

‘यहाँ आउन पाउँदा म धेरै खुशी छु । असाध्यै राम्रो ठाँउ रहेछ’ रुपाकोट रिसोर्टमा पुगेपछि नेपाल भ्रमणमा रहनु भएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पहिलो प्रतिक्रिया हो यो । ताल नगरीको रुपमा परिचित कास्कीको पोखरा ।

सामान्य अवस्थामा पोखराबाट ४५ मिनेटको उकालो चढेपछि पुगिने रुपाकोटको अतिथि बनेर बङ्गलादेशी राष्ट्रपति र उहाँको प्रतिनिधिमण्डल पुगेको हो । रुपा र बेगनास तालको ठ्याक्कै माथिपट्टिको हरियो डाँडामा एकनासले विराजमान रुपाकोट रिसोर्टबाट हिउँले सेताम्मे पारेको हिमशृङ्खला देखिन्छ । आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमाललाई आँखै अगाडि देख्न पाउँदा जो कोही मन पुलकित हुन्छ । प्रकृतिक छटाले मुग्ध भएपछि धेरैको मुखबाट सहजै निस्कन्छ, आहा कति राम्रो ठाँउ ।

आम मान्छेले सहजै जनाउने प्रतिक्रिया जस्तै बङ्गलादेशी राष्ट्रपति हमिदले पनि आफ्ना प्रतिनिधिमण्डलका सदस्य र रिसोर्टका सञ्चालकका बीचमा भन्नुभयो, “आइएम भेरी ह्याप्पी, दिस इज भेरी नाइस प्लेस ।”

भिआइपीको भ्रमण हुँदैछ भन्ने खबर थाहा पाएपछि रुपाकोट रिसोर्टका मालिक पुष्पराज अधिकारीलाई खुशीले भुइँमा खुट्टा नै थिएन भन्दा पनि हुन्छ । त्यसो त बङ्गलादेशका व्यवसायी, कलाकार, बैंक तथा वित्तीय संस्थाका प्रमुख र यहाँस्थित बङ्गलादेशी दूतावासका अधिकारी पटकपटक रुपाकोट रिसोर्ट पुगेका थिए । राष्ट्रपति नै आउने खबर अधिकारीले दश दिन पहिले थाहा पाउनुभएको थियो ।

राष्ट्रपति हमिदलाई नै भनेर रिसोर्टले स्थानीय माछाको विशेष परिकार बनाएको थियो । त्यसका लागि रिसोर्टले बङ्गलादेशी दूतावाससँग पनि छलफल गरेको थियो । रिसोर्ट भित्रैको करेसाबारीमा उत्पादन हुने साग असाध्यै मीठो मानेर खानुभयो, रिसोर्टका सञ्चालक अधिकारीले भन्नुभयो, “हामीले विशेष प्रकारको बिरयानी बनाएका थियौँ । त्यसलाई समेत राष्ट्रपति हमिदले खुशी हुँदै लिनुभयो ।”

हामीले स्थानीय खाना नै उहाँलाई खुवायौँ । असाध्यै खुशीको भाव प्रस्तुत गर्दै अधिकारीले भन्नुभयो, “पछाडि परेको रुपाकोटजस्तो डाँडाको पनि दिन फिर्दो रहेछ भन्ने मलाई अनुभव भएको छ ।” अधिकारीले थप भन्नुभयो, “हामीले आफ्नै बारीमा प्राङ्गारिक खेती गरेका छौँ, त्यसले आफ्नै उत्पादन पाहुनालाई खुवाउन सकिन्छ भन्ने मान्यताको समेत विकास गरेका छौँ ।”

डेढ घण्टा रिसोर्टमा रहँदा राष्ट्रपतिले मन्त्रमुग्ध भएर हिमश्रृखला हेर्नुभयो । रुपा र बेगनास तालको प्राकृतिक छटाको मज्जा लिनुभयो । “डाँडा काँडामा पनि राष्ट्रिय पाहुना आउनुहुन्छ र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनुहुन्छ भन्ने मेरो विश्वासले काम गरेको छ”, हर्षित हुँदै अधिकारीले भन्नुभयो ।

राष्ट्रपतिको स्वागतले पुलकित हुनुभएका अधिकारी भन्नुहुन्छ, “यो त शुरुआत हो जस्तो लाग्छ, आगामी दिनमा अझै धेरै देशका विशिष्ठ पाहुना यहाँ आउनुहुन्छ भन्ने मेरो विश्वास छ ।” अधिकारीले भ्रमणको जोहो गरिदिने नेपाल सरकार, परराष्ट्र मन्त्रालय, गण्डकी प्रदेश सरकार र स्थानीय रुपा गाउँपालिकालाई पनि आभार व्यक्त गर्नुभयो । “यो रिसोर्ट राज्यका लागि हो, मेरा लागि मात्र होइन भन्ने मेरो पूर्ववत् भनाइले साकार रुप पाएजस्तो लागेको छ”, अधिकारी अगाडि भन्नुहुन्छ, “पैसा खोज्न अब विदेश जानु नै पर्दैन ।” पोखरामा फूलबारी रिसोर्टजस्ता अन्य २० वटा रिसोर्ट बनाउन सकिन्छ, तर रुपाकोट रिसोर्ट भने भूगोल र प्रकृतिको आधारमा हेर्दा मात्रै एउटा मात्रै बन्न सक्ने उहाँको भनाइ छ ।

रुपाकोटमा विहिबार मौसम पनि राम्ररी खुलेको थियो । घमाइलोले पनि राष्ट्रपति हमिदलाई सहयोग ग¥यो । खुलेको मौसमले ‘रिट्रिटका’ लागि आउनुभएका बङ्गलादेशी अथितिलाई स्वागत गरेको जस्तो लाग्थ्यो । प्राङ्गारिक खाना खाएपछि राष्ट्रपति हमिद, उहाँकी धर्मपत्नी र बङ्गलादेशी पाहुनाले पोखराको सौन्दर्यको आफू आफैंमा चर्चा मात्रै गर्नुभएन, नेपालको प्राकृतिक विविधता र सुन्दरताको समेत मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

राष्ट्रपतिको स्वागतमा रुपा गाँउपालिकाले कुनै कन्जुस्याइँ गरेको थिएन । नेपाली पञ्चचेबाजा बजाइएको थियो । बाटा घाटा सफा गरिएको थियो भने स्वागतद्वार बनाएर नेपाल बङ्गलादेशमैत्री सम्बन्ध अमर रहोस् भन्ने नारासमेत लेखिएको थियो । राष्ट्रपति हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरियो । नेपालीको भव्य स्वागत पाउँदा खुशीले मुस्काउनु भएका राष्ट्रपतिले हात हल्लाएर स्थानीयवासीलाई अभिवादन गर्नुभएको थियो ।

रुपाकोटमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, उपप्रमुख लालसुब्बा गुरुङ, जनप्रतिनिधि तथा सरकारी कर्मचारी लगायतले स्वागत गर्नुभएको थियो ।
रासस

रुपाकोट पुगेपछि राष्ट्रपति हमिदले भन्नुभयो – आइएम भेरी ह्याप्पी, दिस इज नाइस प्लेस !