चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल केही दिन भित्रै सञ्चालन हुने

चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल केही दिन भित्रै सञ्चालन हुने


काठमाडौँको चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनभित्रमा सञ्चालन हुने भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सुक्खा बन्दरगाहभित्र रहेको एउटा टर्मिनल गएको वर्षको चैत २२ गतेदेखि नै सञ्चालनमा आएको भए पनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन । आन्तरिक टर्मिनल सञ्चालनका लागि तयारी अवस्थामा रहेकाले सम्बन्धित सरोकारवाला निकायमा पत्राचार गरी एक-दुई दिनभित्रै टर्मिनल सञ्चालन सुरु हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

व्यापार सहजीकरणका लागि निर्माण भएको उक्त सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा एक सय ५० ट्रक पार्किङ क्षमता, गोदाम घर, नापतौल, लोड-अनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था रहेको छ । टर्मिनल प्रयोगका लागि प्रवेश शुल्क निःशुल्क गर्नुको साथै सकेसम्म न्यूनतम शुल्कमा गाडीको पार्किङ, मालसामानको लोडिङ-अनलोडिङलगायत सुविधा उपलब्ध हुने भएकाले टर्मिनल सञ्चालनमा आएपछि अहिले उपत्यकामा भइरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङबाट हुने दुर्घटनालगायत जोखिम कम हुने समितिका कार्यकारी निर्देशक गजुरेलले बताए ।

उनले भने, “वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समिति बैठकले पनि चोभारको आन्तरिक टर्मिनल सञ्चालन गर्ने निर्णय गरिसकेको छ, अब चाँडै सञ्चालन हुनेछ ।” यसैगरी आयातकर्ता-निर्यातकर्तालाई सडक किनारामा सवारी साधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहजरूपमा पार्किङको सुविधा उपलब्ध हुने भएको हुँदा मालसामान आयातकर्ता एवं निर्यातकर्तालाई चोभार सुक्खा बन्दरगाह प्रयोग गरी लाभ लिनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले अुनरोध गरेको छ ।

विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको उक्त चोभार सुक्खा बन्दरगाहको कूल लागत एक अर्ब ५४ करोड छ । करिब दुई सय ६० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा भन्सार, क्वारेन्टिन, बैंकलगायत निकायको उपस्थिति रहेको छ । बन्दरगाहमा लोडअनलोड भवन तीन, गोदाम घर तीन, प्रशासनिक भवन तीन, एप्राइजल सेड तीन, धर्मकाँटा तीन, कन्टेनर यार्ड, विद्युत् सबस्टेसन, बाउन्ड्री लाइट, अन्य सवारी पार्किङलगायतका संरचना रहेका छन् ।

बन्दरगाहको कन्टेनर -याडमा पाँच सय कन्टेनर र पाँच सय ट्रक राख्न मिल्ने ६५ हजार वर्गमिटर पार्किङ क्षेत्र रहेको छ । बन्दरगाह सञ्चालनमा आएसँगै अब नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा योगदान मिल्ने समितिले जनाएको छ । चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउने प्रक्रिया करिब एक दशकअघि नै सुरु भएको थियो । नेपाल र विश्व बैंकबीच विसं २०७० जेठमा (जुन २०१३) चोभारमा सुक्खा बन्दरगाह निर्माणका लागि वित्तीय सम्झौता भएको थियो ।

त्यसपछि आव २०७०–०७१ को बजेटले चोभारमा सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यक जमिनको व्यवस्था गर्न बजेट छुट्याउने घोषणा गरेको थियो । त्यसको करिब पाँच वर्षपछि साउन विसं २०७५ मा नेपाल इन्टरमोडल यातायात विकास समिति र ठेकेदार कम्पनी सांसी-आशिष जेभीबीच १८ महिनाभित्र काठमाडौँ सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । चोभारमा निर्माण भएको यस बन्दरगाहको शिलान्यास विसं २०७५ माघ ३ गते भएको थियो ।

स्थानीय अवरोध, कोभिडको प्रभावलगायत कारणले बन्दरगाह निर्माणमा ढिलाइ भएको इन्टरमोडलले जनाएको छ । तेस्रोपटकको म्याद थपपछि गएको असारमा बन्दरगाहको निर्माण कार्य सम्पन्न भएको बताइएको छ । बन्दरगाह तथा आन्तरिक टर्मिनल सञ्चालनमा आएसँगै अब आयातकर्ताले आयात गरेर ल्याएका मालवस्तुको भन्सार जाँचपास काठमाडौँमै गर्न सक्ने बताइएको छ ।

Logo