सचिन तेन्दुलकारले आज कीर्तिपुर मैदानमा क्रिकेट खेल्दै

काठमाडौं,

भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर गएराती ११ बजे नेपाल आइपुगेका छन् । उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत राति ११ः०६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्  ।

विमानस्थलमा रहँदा संक्षिप्त प्रतिक्रिया दिँदै सचिनले भने, ‘नेपाल आउँदा निकै खुसी लागेको छ ।’ धेरै समर्थकले क्रिकेटका जिउँदा भगवान् मान्ने गरेका तेन्दुलकर नेपाल भ्रमण गर्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ क्रिकेट खेलाडी हुन् ।

यसअघि भारतका अन्य क्रिकेट खेलाडी कपिल देव, सुनिल गवास्करले पनि नेपालको भ्रमण गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटका एक इतिहास तेन्दुलकरको भ्रमणबाट नेपाली क्रिकेटरले थप प्रेरणा लिने विश्वास गरिएको छ ।

युनिसेफको निमन्त्रणामा नेपाल आएका चर्चित क्रिकेटर सचिन तेल्दुलकरले आज कीर्तिपुर मैदानमा विनोद दास नेतृत्वको टोलीविरुद्ध प्रदर्शनी खेल खेल्दै छन् । युनिसेफले तेन्दुलकरसँग खेल्नका लागि विद्यार्थीको छनोट गरिसकेको छ । त्यसमा महिला र पुरुष दुवै छन् । खेल १०/१० ओभरको हुने बताइएको छ । सचिन शनिबार नै स्वदेश फर्कने कार्यक्रम छ।

सचिन तेन्दुलकारले आज कीर्तिपुर मैदानमा क्रिकेट खेल्दै