कृषि तथा बाली बीमाको अवस्था कमजोर

कृषि तथा बाली बीमाको अवस्था कमजोर


निर्जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन रकम ५.१५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा सञ्चालनमा रहेका १८ कम्पनीहरुले १३ लाख ९५ हजार ३२ वटा  बीमालेख जारी गर्दा बीमाशुल्क संकलन ५.१५ प्रतिशतले बढेर २० अर्ब ८ करोड २५ लाख ५५ हजार रुपैयाँ पुगेको हो । 

गत आवको सोही अवधिमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार निर्जीवन बीमा व्यवसाय मोटर बीमामा निर्भर रहेका छन् भने लघु र कृषि तथा बालीबीमाको अवस्था कमजोर देखिएको छ । सरकारले लघुबीमा र कृषि तथा बाली बीमालाई विशेष जोड दिँदा पनि यसको अवस्था नाजुक रहेको छ । 

सरकारले सबैभन्दा धेरै अनुदान दिएको कृषि तथा बाली बीमाको बजार हिस्सा भने ५.४४ प्रतिशत छ । राज्यले बीमा शुल्कमा अनुदान दिँदा पनि बीमा कम्पनीहरुले पुस महिनासम्म ८२ हजार ७४६ वटा बीमालेख जारी गरी १ अर्ब ९ करोड २७ लाख रूपैयाँको मात्र बीमा गरेका छन् ।

यस्तै, पछिल्लो समयमा सरकारले लघुबीमालाई जोड दिँदै आएपनि यसको बजार खासै फस्टाउन सकेको छैन् । पुसमसान्तसम्म लघु बीमाको बजार हिस्सा जम्मा ०.१८ प्रतिशत छ । यसअवधिमा बीमा कम्पनीहरुले १७ हजार ९०६ वटा लघुबीमा लेख जारी गरी ३ करोड ६६ लाख ९६ हजार मात्र बीमाशुल्क संकलन गरेका छन् ।

लघुबीमा र कृषि तथा बाली बीमाको हिस्ता कम्जोर देखिंदा निर्जीवन बीमा व्यवसायको सबैभन्दा धेरै करिब ३३.६२ प्रतिशत हिस्सा भने मोटर बीमाको छ । बीमा कम्पनीहरुले पुस मसान्तसम्म मोटर बीमाको ८ लाख ८४ हजार १२१ बीमालेख जारी गरी ६ अर्ब ५५ करोड १७ लाख बीमाशुल्क संकलन गरेको छ । सरकारले मोटर बीमालाई अनिवार्य गरेकाले पनि मोटर बीमाको हिस्सा बढी देखिएको हो । मोटर खरिद गर्दा र मोटर नवीकरण गर्दा अनिवार्य रुपमा बीमा गर्नुपर्ने प्रावधान छ ।

यसैगरी, मोटर बीमापछि कम्पनीहरुले गरेको व्यवसायको सम्पति बीमाको हिस्सा २२.२५ प्रतिशत छ । कम्पनीहरुले २ लाख ४५ हजार ५५३ वटा सम्पत्ति बीमालेख जारी गरी ४ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ बराबरको सम्पति बीमा गरेका छन् । सरकारले सम्पति बीमालाई अनिवार्य गरेको छ । साथै, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर घर खरिद गर्दा अनिवार्य रुपमा कर्जाको बीमा हुनुपर्ने वित्तीय संस्थाको प्रावधान छ ।

त्यस्तै,कम्पनीहरुमा इन्जिनियरिङ्ग बीमाको हिस्सा १८ प्रतिशत छ । कम्पनीहरुले १२ हजार ७६८ वटा बीमालेख जारी गरी ३ अर्ब ६१ करोड रुपैयाँ बराबरको इन्जिनियरिङ्ग बीमा व्यवसाय गरेका छन् । पछिल्लो समयमा प्राधिकरणले इन्जिनियरिङ्ग बीमालाई पनि अनिवार्य गरेको छ । कुनै पनि परियोजना सुरु गर्नुअघि ठेकेदार कम्पनीले अनिवार्य रुपमा बीमा गर्नुपर्ने हुन्छ ।

त्यस्तै, कम्पनीहरुले १ अर्ब ५ करोड ९६ लाख रुपैयाँको सामुद्रिक बीमा,  ९९ करोड ४ लाख रुपैयाँको हवाई बीमा र २ अर्ब २६ करोड ४४ लाख रुपैयाँ विविध बीमा गरेका छन् ।

चालु आर्थिक वर्षको पुसमसान्तसम्म १८ वटा निर्जीवन बीमा कम्पनीहरुले मोटर, सम्पति, इन्जिनियरिङ्ग, सामुद्रिक, हवाई, कृषि तथा बाली, लघु र विविध बीमा गरेर २० अर्ब ८ करोड २५ लाख बीमाशुल्क संकलन गरेका छन् ।

जसमध्ये अर्बौ रुपैयाँ बीमा शुल्क संकलन गर्नेमा ९ वटा कम्पनी परेका छन् । जसमा शिखर इन्स्योरेन्सले २ अर्ब ६५ करोड २३ लाख रुपैयाँ,हिमालयन एभरेष्टले१ अर्ब ५० करोड ८१ लाख रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ४९ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ३४ करोड १ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २० करोड ३८ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब७ करोड र सानिमा जिआइसीले १ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

अर्कोतर्फ, ९ वटा बीमा कम्पनीकोबीमाशुल्क संकलन करोडमा सिमित भएको छ । यस अवधिमा नेपाल इन्स्योरेन्सले ७९ करोड ३६ लाख रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले ७० करोड १४ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ४९ करोड ४० लाख रुपैयाँ र यूनाइटेड इन्स्योरेन्सले ५९ करोड ३१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २ करोड ४५ लाख रुपैयाँ, आइएमई जनरलले ९० करोड २६ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ६४ करोड ८६ लाख रुपैयाँ, लुम्बिनी जनरलले ९७ लाख १९ हजार रुपैयाँ र अजोड इन्स्योरेन्सले ९० करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरको छन् ।

Logo