जनयुद्ध दिवस राष्ट्रको सम्पती हो -प्रधानमन्त्री प्रचण्ड

जनयुद्ध दिवस राष्ट्रको सम्पती हो -प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पती भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यक्तालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताए ।

उनले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतिपूर्ण अवसरको रुपमा लिएको बताउँदै असफल हुने छुट नरहेको उल्लेख गरे । उनले  सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताए । प्रधानमन्त्री दाहालले केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौं कोणबाट प्रश्न उठाउने कोशिषहरु भइरहेको उल्लेख गर्दै जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य भएको बताए ।

उनले फेरि एक पटक नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउँदै सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकतावद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल समेत गरे । प्रधानमन्त्री दाहालले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भइसकेको उल्लेख गर्दै छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि बढ्ने बताए ।

उनले भने, ‘केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौं कोणबाट प्रश्न उठाउने कोशिषहरु भइरहेका छन् । यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले यसको औचित्य सिद्ध गर्न दृढताकासाथ अघि बढ्नुको कुनै विकल्प छैन । मैले त्यही ऐतिहासिक आवश्यक्तालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट आइतबार मन्त्रीपरिषद्बाट यो निर्णय गरेको हो । अब यो माओवादीको मात्रै भएन नेपाल राष्ट्रकै सम्पती भयो ।’ उनले भने ‘हामीले अब फेरि एक पटक नयाँ संकल्पसहित अघि जानुछ ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘म यस ऐतिहासिक दिनमा र नेपाल सरकारबाट भएको निर्णयका सन्दर्भमा पनि सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई पनि अब एकतावद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल गर्न चाहन्छु । केही समयदेखि आन्दोलनलाई एकतावद्ध गर्ने प्रक्रिया अघि बढीसकेका छन् । मैले पनि धेरै समूहसँग छलफल गरेको छु, मलाई विश्वास छ छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ । त्यसले आम माओवादी नेता कार्यकर्ता मात्र नभइ आम जनतालाई पनि एक पटक उत्साहीत गर्नेछ । कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको छ । छिटै एउटा समाजवादी मोर्चा नेपालको भोलिको नेतृत्व निर्माणमा आउने विश्वास लिएको छु ।’

यस्तै, प्रधानमन्त्री दाहालले सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट सुरु गर्ने बताए । उनले नेपालमा पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिममा स्थापना गर्नेमा जोड दिए ।  प्रधानमन्त्री दाहालले जनयुद्ध दिवसका दिन नै विकासमा फड्को मार्दै गर्दा आफ्नो इच्छा, आकंक्षा र देश विकास र सुशासनमा लाग्न प्रेरित गरेको बताए ।

Logo