राष्ट्रिय भलिबल टालीको प्रशिक्षकमा जान डी ब्रान्ट नियुक्त

राष्ट्रिय भलिबल टालीको प्रशिक्षकमा जान डी ब्रान्ट नियुक्त


नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका जान डी ब्रान्ट नियुक्त भएका छन् ।

अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उनी राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएको नेपाल भलिबल संघ एनभीएका महासचिव रोशन श्रेष्ठले जानकारी दिए । महासचिव श्रेष्ठका अनुसार बेल्जियमका जान डी ब्रान्ट ६ महिनाको लागि नेपालको प्रशिक्षक नियुक्त भएका छन् । उनको कार्यकाल मार्चदेखि अगष्टसम्म हुनेछ ।

६ महिनाका लागि नेपाल आउने उनले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने छन् । जानले आगामी सेप्टाबरमा हुने एसियन गेम्ससम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्नेछन् । तर एसियन गेम्सको बेला भने जान फर्कनेछन् र नयाँ प्रशिक्षक आउने छन् ।

जान ब्रान्ट बेल्जियमका पूर्व भलिबल खेलाडी समेत हुन् । उनले बेल्जियम र हंगेरीको महिला भलिबल टिममा समेत काम गरिसकेका छन् । यस्तै उनले बेल्जियम र टर्कीका विभिन्न टिमको समेत प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । ६४ वर्षीय जानसँग साढे दुई दशक भन्दा बढी प्रशिक्षण अनुभव छ ।

Logo