बूढानीलकण्ठका १४६ बालबालिकामा जन्मजात मुटुरोग

बूढानीलकण्ठका १४६ बालबालिकामा जन्मजात मुटुरोग


सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ । 

बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले एक सय ४६ विद्यार्थीमा जन्मजात मुटु रोगसम्बन्धी समस्या देखिएको हो । अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले पाँचदेखि १५ वर्ष उमेर समूहका १३ हजार विद्यार्थीको मुटु परीक्षण गर्दा नौ जनामा मात्र बाथ मुटुरोग देखिएको थियो ।       

बाथ तथा मुटु ज्वरो छ, छैन भन्ने अध्ययन गर्ने स्क्रीनिङ परीक्षण सुरु गरिएको थियो । पुस महिनादेखि माघको अन्तिमसम्ममा गरिएको परीक्षणमा सरकारी विद्यालयका तीन हजार आठ सय २० र निजी विद्यालयका नौ हजार एक सय ८० जना विद्यार्थी सहभागी रहेका थिए । उनका अनुसार जन्मजात मुटुसम्बन्धी समस्या देखिएको हो । “अस्पतालमा परीक्षण (इको) गर्दा शङ्का लागेका विद्यार्थीलाई पुनःअस्पतालमा परीक्षण गरेका थियौँ । बाथ तथा मुटु रोगका समस्या भएका नौ बिरामी देखिए । एक सय ४६ लाई विभिन्न किसिमको जन्मजात मुटुको रोग देखियो ।”

अध्ययनले आर्थिकरूपमा सबल स्थानमा बाथ मुटु रोग कम हुन सक्ने देखाएको उनको भनाइ छ । “लक्षण नभए पनि जन्मजात मुटुको रोगको समस्या हुन सक्ने यो अध्ययनले देखाएको छ । अर्कोतर्फ काठमाडौँ उपत्यका नजिकका ठाउँमा स्वास्थ्य सेवाको पहुँच र सबल आर्थिक पक्षका कारण पनि बाथ मुटु रोग कम देखिएको भन्न सकिन्छ”, उनले भने । 

केन्द्रले मुगु जिल्ला र धुनीबेसी नगरपालिकामा समेत मुटुरोगको अध्ययन गर्ने तयारी रहेको निर्देशक अधिकारीले जानकारी दिए । उनले भने, “देशका विकट स्थानमा मुटुसम्बन्धी समस्या कस्तो छ भन्ने जान्नका लागि मुगुमा अध्ययन गर्ने तयारी छ । ”

जन्मजात मुटु सचेतना सप्ताह चलिरहँदा अस्पतालले उक्त अध्ययन सार्वजनिक गरेको हो । जन्मजात मुटुरोग सचेतना फेब्रुअरी सात देखि १४ तारिखसम्म विभिन्न जनचेतनामूलक सप्ताहका रूपमा मनाइन्छ । बाल मुटुरोग विशेषज्ञ डा उर्मिला शाक्यका अनुसार एक सय जनामा एक जनालाई जन्मजात मुटुसम्बन्धी रोग हुने गर्छ । ती मध्ये एक तिहाइलाई जटिल प्रकारको समस्या हुने र उपचार नपाए मृत्युको जोखिम हुने गर्छ । 

“सबैभन्दा बढी बच्चाको मृत्युको कारण जन्मजात मुटुसम्बन्धी रोग हो । गर्भ अवस्थाबाटै शिशुको मुटुभित्र र बाहिरका बनावटमा कुनै पनि प्रकारको विकृतिलाई जन्मजात मुटुरोग भनिन्छ”, उनले भनिन्, “जन्मजात मुटुसम्बन्धी रोगका ९० प्रतिशत कारण पुष्टि हुँदैन । दश प्रतिशत कारणमध्ये सबैभन्दा धेरै वंशाणुगत र वातावरणीय प्रतिक्रिया हुन सक्छ ।”

मुटुरोग विशेषज्ञ डा पुनम शर्मा भने, “१२ देखि २४ हप्ताको गर्भमा शिशुको मुटुसम्बन्धी समस्या परीक्षण गर्न सकिन्छ । त्यस्ता समस्या सामान्यदेखि जटिलसम्म हुनसक्छ । समयमा पहिचान हुनसके जटिल मुटुरोगको उपचार सम्भव छ ।”

डा शर्माका अनुसार जन्मजात मुटुरोग हुने बालबालिकामा ओठ र जिब्रो नीलो हुने, तौल नबढ्ने, छिटो थाक्ने, आमाको दूध राम्ररी खान नसक्ने र निमोनिया भइरहने जस्ता लक्षण देखिन सक्छ । 

गर्भवती महिलाले मद्यपान, धुम्रपान सेवन गर्ने र विकिरणको सम्पर्कमा आउँदा शिशुमा मुटुसम्बन्धी समस्या देखिन सक्छ । चिकित्सकको सल्लाहविना औषधिको सेवन, पोलेट भिटामिनको अभाव, नजिकको नातामा हुने विवाह, डाउन सिन्ड्रोम, रुबेला भाइरस र वंशाणुगत कारणले बालबालिकामा जन्मजात मुटुरोगसम्बन्धी विभिन्न समस्या देखिन सक्छ । 

Logo