अध्यक्ष ओली र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

अध्यक्ष ओली र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता


नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेशसचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।

अध्यक्ष ओलीको निवास बालकोटमा सोमबार भएको भेटवार्तामा द्विपक्षीय पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको एमालेका नेता डा. राजन भट्टराईले जानकारी दिए । भेटमा अध्यक्ष ओलीले दुवै देशबीच घनिष्ठ, नमूना र जनस्तरको सम्बन्ध रहिआएको उल्लेख गर्दै दुवै छिमेकी मुलुक एकअर्काको सहयोगी बनेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । साथै उनले कुनै समस्या भए वार्ता र सहमतिका आधारमा समाधान गरेर अघि बढ्नुपर्ने बताए ।

विदेशसचिव क्वात्राले दुवै देशबीचको सम्बन्ध राम्रो अवस्थामा रहेको आफूले पाएको उल्लेख गर्दै द्विपक्षीय सहमति कार्यान्वयनको तहमा रहेको र कार्यान्वयन नभएका सहमतिलाई पनि अघि बढाउने सहमति भएको जानकारी गराए । विदेशसचिव क्वात्रा परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आएका हुन् । यसअघि उनले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

यस्तै, उनले सोमबार नै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै सचिवस्तरीय बैठकमा सहभागी भएका थिए । विदेशसचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

Logo