आगजनी र तोडफोडको जिम्मा ल्होत्सेले लिनुपर्छ -यातायात मजदुर

आगजनी र तोडफोडको जिम्मा ल्होत्सेले लिनुपर्छ -यातायात मजदुर


आन्दोलनरत सार्वजनिक यातायातसम्बद्ध तीन मजदुर संगठनले सोमबारको घटनाको जिम्मेवारी ल्होत्से प्रालिले लिनुपर्ने जनाएका छन् ।

मंगलबार बिहान उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको वार्ताका क्रममा मजदुर संगठनका पदाधिकारीले ल्होत्सेलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् । आन्दोलनपछि कोणसभाका लागि गएका आफ्ना मजदुरहरुलाई ल्होत्सेकै कर्मचारीहरुले भड्काएपछि आगजनी र तोडफोडको घटना भएको उनीहरुको आरोप छ ।

उनीहरुले बालाजु क्षेत्रमा भएको लुटपाटमासमेत ल्होत्सेबाटै परिचालित व्यक्तिहरुको संलग्नता रहेको आरोप लगाउँदै उनीहरुले सोमबार भएका सबै घटनाको सबै जिम्मा ल्होत्से बहुउद्देश्यीय प्रालिले नै लिनुपर्ने बताएका छन् । सोमबार प्रदर्शनका क्रममा गोंगबु, नयाँ बसपार्क क्षेत्रमा तोडफोड र प्रहरीका गाडीमा आगजनी गरिएको थियो ।

गोंगबुस्थित नयाँ बसपार्क निर्माण, सञ्चालन र व्यवस्थापनमा संलग्न ल्होत्से बहुउद्देश्यीय प्रालिले बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकासँग ४५ वर्षको सम्झौता गरेको छ । यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेजलगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरिरहेका छन् । उनीहरुले आज बिहानैदेखि उपत्यकाभित्र सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।

Logo