कालापानीबाट भारतीय सेना हटाउँछौं – प्रधानमन्त्री ओली

file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । उनले नेपालको एक इन्च भूमि पनि  कसैलाई मिच्न नदिने बताए ।

नेकपाका भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भनेर प्रश्न उठाइरहेका बेला अ‍ोलीले यही सरकारले विदेशी फौज फिर्ता गराउने उद्घोष गरे ।

सीमा अहिले मिचिएको नभई यसअघिका शासकको कमजोरीका कारण मिचिएको भन्दै ओलीले उक्त भूभाग फिर्ता लिन वर्तमान सरकार सक्षम रहेको बताए । उनले भने, ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं। कतिपयले नक्सा सच्याउनुपर्‍यो भनेका छन्। नक्सा सच्याउने मात्र होइन सरकारले आफ्नो भूमि फिर्ता ल्याउँछ। अतिक्रमित भूमि फिर्ता ल्याउन सरकार सक्षम छ। अहिलेको सरकार राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ।’

ओलीले अगाडि भने ‘हामी आफ्नो भूमिको एक इन्च पनि मिच्न दिदैनौं । अरूको जमिन पनि चाहिदैन । तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानै पर्छ । सरकार सम्वाद गर्न नसक्ने अवस्थामा छैन र विदेशी फौज फिर्ता गराउँछ । सीमा मिचिएको विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न पनि सफल भएका छौं ।’

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरूमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए ।

प्रधानमन्त्रीले भने ‘नेपालको गरिमा बढेको छ । महत्वपूर्ण शक्ति राष्ट्र प्रमुखको भ्रमण लगातार भइरहेको छ । इतिहासमा यस्तो हुदैनथ्यो । अहिले नेपालको कुरा सुनिन थालेको छ ।’

भारतले राजनीतिक नक्सामा नेपालका भूमि समावेश गरेपछि विरोधमा जनता सडकमा उत्रिएको प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले राजनीतिक दल र संघसंस्थालाई राष्ट्रियतामा एकजुट भएकोमा धन्यवाद दिए।

‘राष्ट्रियताको प्रश्नमा जनता एक देखिए। जागरूक देखिए। सजग देखिए। हाम्रो देशको भूमिको रक्षा हुनुपर्छ भन्ने देखियो यो खुसीको कुरा हो,’ ओलीले भने, ‘म खुसी छु। धन्यवाद दिन चाहन्छु। सडकमा उत्रिएर गरेको विरोधले सरकारलाई बल नै पुगेको छ।’

प्रधानमन्त्रीले सीमा विवादका कुरा केहीले उचालेको आरोप लगाउँदै भने- ‘कतिपयले अतिरिक्त देशभक्ति देखाउन उचालेका छन्। अहिलेको सरकार नेपाली जनताको देशभक्त सरकार हो ।’

ताजा समाचार

कालापानीबाट भारतीय सेना हटाउँछौं – प्रधानमन्त्री ओली