भारतीय सचिवको नेपाल यात्राः प्रचण्डसँग दुई–दुई पटक वार्ता, दुई दिनमा १४ नेतासँग भेटघाट

भारतीय सचिवको नेपाल यात्राः प्रचण्डसँग दुई–दुई पटक वार्ता, दुई दिनमा १४ नेतासँग भेटघाट


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई–दुई पटक भेटघाट गरेर भारतीय विदेश सचिव बिनय मोहन क्वात्रा स्वदेश फर्केका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल–भारत सचिवस्तरी बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुई–दुई पटक भेटघाट गरेका हुन् । पहिलो पटक १ फागुनमा औपचारिक भेटघाट गरेका क्वात्राले २ फागुन साँझ बालुवाटारमा अनौपचारिक भेटघाट गरी स्वदेश फर्केका हुन् । नेपाल भारत सचिवस्तरीय वार्ताका लागि आएका भनिए पनि विदेश सचिव क्वात्राले दुई दिनमा नेपालका १४ जना नेतालाई भेटघाट गरेपछि अन्तिमा पुनः प्रचण्डसँग भेटघाट गरेको स्रोतले जनाएको छ ।

बालुवाटारमा सोमबार साँझ भएको भेटघाटमा के के भयो ? त्यो भने खुल्न सकेको छैन । सो भेटलाई बालुवाटारले गोप्य राखेको छ । राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल र प्रतिपक्ष दलबीच सहमति हुन नसकिरहेको तथा त्यसमा राजनीतिक दलहरुबिच घोचपेच भईरहेको बेला विदेश सचिव क्वात्राले संघीय संसदका ठुलादेखी साना दलसम्मका नेताहरुसँग गरेको भेटलाई अर्थपुर्ण रुपमा लिईएको छ ।

मुख्यतः राष्ट्रपतिको निर्वाचन र सत्तारुढ गठबन्धनका भविश्यका बारेमा उनले चासो व्यक्त गरेका थिए । सबैजसो राजनीतिक दलका नेतासँग सो बारेमा चासो व्यक्त गरेका विदेश सचिव क्वात्राले अन्तिमा प्रधानमन्त्री प्रचण्डसँग ‘अनअफिसियल’ भेटघाट गरेर स्वदेश फर्केका हुन् । 

Logo