नेविसंघले निकालेको सिमा अतिक्रमण विरुद्धको प्रर्दशनमा प्रहरीको लाठीचार्ज

काठमाडौं,

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली भूमि अतिक्रमणको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा भूमि अतिक्रमणविरुद्ध आइतबार दिउसो विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा उनीहरुले गो ब्याक इन्डिया र गो ब्याक चाइनाको नारासमेत लगाएका थिए। विद्यार्थीहरुले दुबैतर्फबाट भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेकोले उनीहरुले नेपाली भूमि छोडेर पछि हट्नु पर्ने माग गरेका थिए ।

माइतीघरमा नाराबाजीसहित दोस्रो पटक फन्को लगाउन थालेपछि प्रहरीले उनीहरुलाई रोक्न खोजेको थियो । प्रर्दशनकारीहरुले पुनः माइतीघर राउन्ड लगाउन खोज्दा झडप समेत भएको थियो। प्रहरीले भिडलाई नियन्त्रणमा लिन लाठीचार्ज गर्दा नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाह र नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पा लगायत एक दर्जन नेता कार्यकर्ता घाइते भएका छन् ।

नेपाली भूमि अतिक्रमणविरुद्ध काठमाडौंमा पदयात्रा निकालियो

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा काठमाडौंमा पदयात्रा पनि निकालिएको छ ।

‘सीमा बचाऔं–नेपाल’ नामक अभियानको आह्वानमा आईतबार दिउँसो काठमाडौंको भृकुटीमण्डप, पुतलीसडक, बागबजारहुँदै रत्नपार्कसम्म भारतीय सीमा अतिक्रमणको विरुद्धमा पदयात्रा निकालिएको हो । पदयात्रामा सहभागी भएकाहरुले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेख नेपाली भूमि हो,’ ‘तत्काल सीमा अतिक्रमण बन्द गर’लगायतका नाराबाजी गर्दै भारतको चर्को विरोध गरेका थिए ।

उनीहरुले पदयात्राका क्रममा नेपालको एक इन्च भूमि पनि नछाडने चेतावनीसहितको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए । यसै गरी आईतबार स्रष्टाहरुले पनि भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा आपत्ति जनाउँदै काठमाडौंमा प्रर्दशन गरेका थिए ।

नेविसंघले निकालेको सिमा अतिक्रमण विरुद्धको प्रर्दशनमा प्रहरीको लाठीचार्ज