नेपालसँग खेल्नुअघि स्कटल्यान्डको उत्कृष्ट प्रदर्शन, नामिबियामाथि १० विकेटको जित

नेपालसँग खेल्नुअघि स्कटल्यान्डको उत्कृष्ट प्रदर्शन, नामिबियामाथि १० विकेटको जित


स्कटल्यान्डले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि सानदार जित निकालेको छ । बुधबार टियु क्रिकेट मैदानमा भएको खेलमा नामिबियामाथि स्कटल्यान्डले १० विकेटको जित दर्ता गरेको हो । 

नामिबियाले जितका लागि दिएको १५४ रनको सामान्य लक्ष्यलाई स्कटल्यान्डले २२.१ ओभरमा विनाविकेटको क्षतिमा पूरा गरेको हो । जसका लागि ओपनर जर्ज मुन्सेले शतक प्रहार गरे । उनी ६१ बलमा १२ चौका र ७ छक्काको मदतमा १०३ रन बनाउँदै अविजित रहे । उनको ओडिआई करिअरको पहिलो शतक हो । साथै काइली कोट्जरले ४६ रन जोडे । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको थियो । नामिबियाका लागि लोह्यान्डरी लोरेन्सले सर्वाधिक ५४ रनको अर्धशतकिय इनिङ्स खेले । साथै बेर्नाड स्कोल्टेजले ३० रन, जान ग्रिनले २५ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । मंगलबार नेपालविरुद्ध शतक प्रहार गरेका माईकल भान लिङ्गेन पनि चल्न सकेनन् । 

नामिबियालाई सस्तैमा समेट्न स्कटल्यान्डका मिचेल लेक्सले ४ विकेट लिए भने सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए । 

यो जितसँगै स्कटल्यान्ड सात देश सम्मिलित आइसिसी विश्वकप लिग–२ को च्याम्पियन पनि बनेको छ । स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंक जोडेर शीर्ष स्थानमा छ । अब उसले तीन खेल खेल्न बाँकी छ । ती सबै खेलमा हार व्यहोर्दा पनि स्कटल्यान्ड भन्दा बढी अन्य देशले अंक जोड्न सक्ने छैनन् । दोस्रो स्थानमा रहेको ओमानको ४४ अंक छ, जसले ३६ वटै खेल खेलिसकेको छ ।  

नेपालले अब दोस्रो खेल शुक्रबार स्कटल्यान्डसँग खेल्दैछ । पहिलो खेलमा मंगलबार नामिबियाविरुद्ध २ विकेटको जित ऐतिहासिक जित निकालेको थियो । 

Logo