ह्याट्रिकमा मेसीभन्दा रोनाल्डो अघि [भिडियोसहित]

ह्याट्रिकमा मेसीभन्दा रोनाल्डो अघि [भिडियोसहित]


फुटबल खेलमा जति नै राम्रो खेल प्रदर्शन गरेपनि जित र हार नै खेलको निर्धारण बिन्दु हो । खेल दौरान खेलाडीहरुले विपक्षी टोलीको पोष्टमा धेरै भन्दा धेरै गोल गर्ने ध्याउन्नका साथ मैदान उत्रने गर्छन । यस्तो अवस्थामा खेलाडीले एक खेलमै ३ गोल गर्नु आफैमा निकै महत्वपूर्ण हुन्छ । तीन गोल गर्नुलाई फुटबलको भाषामा ह्याट्रिक भनिन्छ । बढी ह्याट्रिक गर्ने सक्रिय खेलाडीमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको नाम सबैभन्दा पहिले आउँछ । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा सम्झौता रद्द गर्दै साउदी क्लब अल नासरमा अनुबन्ध भएका रोनाल्डोले साउदी प्रो लिगमा घरेलु टोली अल वेहदामाथि ४–० को फराकिलो जित निकाल्दै अल नासरका लागि पहिलो तथा आफ्नो करिअरको ६१औं ह्याट्रिक पूरा गरेका हुन् ।

रोनाल्डो सक्रिय खेलाडीमध्ये सबैभन्दा बढी ह्याट्रिक गोल गर्ने खेलाडी मात्र नभएर फुटबल इतिहासकै सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी पनि हुन् । ३८ वर्षका रोनाल्डोले ५ बालोन डि’ओर जित्नुका साथैं क्लब तथा अन्तर्राष्ट्रिय स्तरमा हालसम्म ८२४ गोल र ६१ पटक ह्याट्रिक गोल गरिसकेका छन् ।

रोनाल्डोपछि धेरै ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन् अर्जेन्टाइन स्टार लियोनल मेसी । फ्रेन्च क्लब पीएसजीका लागि ब्याबसायिक फुटबल खेल्ने ३५ वर्षीय मेसीले क्लब तथा अर्जेन्टिनाका लागि अहिलेसम्म ५६ ह्याट्रिक गोल गरेका छन् । ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाउन महत्वपूर्ण भूमिका खेलेका मेसीले बार्सिलोना, पीएसजी र अर्जेन्टिनाका लागि ५६ ह्याट्रिक गोल गर्दै रोनाल्डोलाई पछ्याइरहेका छन् । मेसी रोनाल्डोको ह्याट्रिक भन्दा ५ ह्याट्रिकले मात्र पछि छन् ।

यस्तै तेस्रो स्थानमा यसै सिजन स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका पोलिस स्टार रोवर्ट लेवानडोस्की छन् । गत सिजन जर्मन क्लब बार्यन म्युनिखका लागि ब्याबसायिक फुटबल खेलेका लेवानडोस्कीले आफ्नो करियरमा अहिलेसम्म ३० ह्याट्रिक गोल गरिसकेका छन् । यसै सिजन बार्सिलोना आएका ३४ वर्षीय लेवानडोस्कीले पोल्यान्ड र जर्मन क्लब बार्यन म्यूनिखका लागि ३० ह्याट्रिक गोल गरेका हुन् । वर्ष २०२२–२३ मा बार्सिलोना आएका लेवानडोस्कीले बार्सिलोनाका लागि भने अहिलेसम्म एक ह्याट्रिक पनि गर्न सकेका छैनन् । 

त्यसैगरी, चौथो स्थानमा छन् उरुग्वेका स्टार लुइस स्वारेज । स्वारेजले पनि आफ्नो करियरमा हालसम्म उरुग्वे तथा विभिन्न क्लबका लागि ३० ह्याट्रिक गोल गरिसकेका छन् । ३६ वर्षका स्वारेज हालै ब्राजिली क्लब ग्रेमियोमा अनुबन्ध भएका छन् । उनले सो क्लबको डेब्यू खेलमै ह्याट्रिक गोल गर्दै ह्याट्रिक सङ्ख्या ३० पुर्याएका हुन् । सो खेलमा ह्याट्रिक गरेसँगै स्वारेजले धेरै ह्याट्रिक गोल गर्ने खेलाडीका रुपमा लेवानडोस्कीसँग बराबर भएका छन् । हालसम्म लेवानडोस्की र स्वारेज दुबैका नाममा समान ३०–३० ह्याट्रिक छ । यो सङ्ख्या पोर्चुगिज स्टार रोनाल्डोको भन्दा ठीक आधा हो । अर्थात् रोनाल्डो स्वारेज र लेवानडोस्कीभन्दा दोब्बर ह्याट्रिकले अघि छन् । 

Logo