आहारको अभावमा बस्ती पस्छन् गैँडा

आहारको अभावमा बस्ती पस्छन् गैँडा


नवलपरासीमा तस्करले गैँडा मारेपछि गरिएको अध्ययनमा एकै रातमा एक सय नौवटा गैँडा बस्ती पसेको पाइएको छ । नवलपरासीमा मात्रै ६१ ठाउँबाट ती गैँडा निकुञ्जबाट बाहिरिएका हुन् । साँझको समयमा गाउँ पस्ने र झिसमिसेमा वन पस्ने गरेको अध्ययनले देखाएको छ ।
 
चितवनका विभिन्न नाकाबाट गैँडा दैनिक साँझमा बस्ती पस्ने गर्दछन् । राप्ती, नारायणी नदी छेउबाट र माडीका वन क्षेत्रबाट दैनिक गैँडा बस्ती पस्ने गरेका छन् । यकिन तथ्याङ्क नभए पनि ठूलो सङ्ख्यामा गैँडा बस्ती पस्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । उनका अनुसार निकुञ्जको कसराबाट पश्चिमी क्षेत्रमा धेरै गैँडा बस्ती पस्ने गरेको  गुनासो आउने गरेको छ ।
 
निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता मरेका १२ गैँडामध्ये ११ वटा कसरा पश्चिममा रहेका आचार्यले जानकारी दिए । घाँसेमैदान कम र गैँडाको सङ्ख्या धेरै हुँदा आहारको खोजीमा गैँडा बस्ती पस्ने गरेको उनको भनाइ थियो । गत माघमा करेन्ट लागेर नवलपरासीको सेरीमा दुई वटा गैँडा मरेपछि निकुञ्जले गैँडाकोटदेखि बगुवानसम्म अध्ययन गरेको थियो ।
 
“तटबन्धन गर्दै गएपछि नदी साँघुरो बनेको तथा निकुञ्ज र आसपासका वन क्षेत्रमा घाँस कम भएसँगै गैँडा राति गाउँ पस्न थालेका छन्”, उनले भने । बस्ती नजिकका खेतबारीमा आलु, मकै, जौ, घाँस, नेपियर घाँस, मुसुरो, गहुँजस्ता बाली गैँडाले मन पराउने भएकाले पनि गैँडा बस्ती पस्ने गरेका आचार्यले बताए ।

निकुञ्जमा गैँडाको सङ्ख्या बढेसँगै सोही अनुपातमा घाँसेमैदान व्यवस्थापन हुन सकेको छैन । पछिल्लो गणनाअनुसार निकुञ्जमा छ सय ९४ गैँडा छन् । तीमध्ये धेरै कसरा पश्चिम क्षेत्रमा छन् । आचार्य त्यहाँका गैँडा निकुञ्जकै पूर्वी वा अन्य संरक्षित क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने बताउँछन् । यससँगै घाँसेमैदान र पानीका स्रोत व्यवस्थापनमा बढी जोड दिनुपर्ने उनको भनाइ छ ।
 
नियमित गैँडा बस्ती पसेर बाली खाने गरेपछि उनीहरुको संरक्षणप्रतिको चासो बढी भएकाले तस्कर सक्रिय हुन नसकेको आचार्यले बताए । उनले भने, “स्थानीयको सहयोगका कारण गैँडा संरक्षण सम्भव भएको हो ।” यद्यपि गैँडा बाहिर आउनबाट रोक्न आवश्यक रणनीति बनाउनुपर्ने उनको भनाइ छ । 

Logo