यी ५ पाका खेलाडी जो अझै करोड कमाउँछन् [भिडियाेसहित]

यी ५ पाका खेलाडी जो अझै करोड कमाउँछन् [भिडियाेसहित]


फुटबल खेलमा खेलाडीको उमेरलाई धेरै महत्वपूर्ण मानिन्छ । मैदानमा उत्रनुअघि एक खेलाडी पूर्ण फिट हुन आवश्यक छ । फुटबल खेलमा प्रवेश गर्न ५ देखि ७ वर्षको उमेरलाई उचित मानिए झैँ एक सफल खेलाडीको पहिचान १७ देखि ३० वर्षको उमेरमा उसले प्राप्त गरेको सफलता र उसको योगदान हेरी मापन गरिन्छ । विश्व बजारमा एक खेलाडीको उमेर, क्षमता, योग्यता र परिश्रमलाई नियाल्दै क्लब तथा प्रशिक्षकले खेलाडी किनबेचको प्रक्रिया अघि सार्ने गर्छन् । सोहीकारण एक खेलाडीको उमेर व्यावसायिक र व्यक्तिगत तवरबाट महत्वपूर्ण मानिन्छ ।

सामान्यतया फुटबल खेलमा ३० वर्ष माथिका खेलाडीलाई करिअरको अन्त्यतिर गइरहेको मानिन्छ । ३० वर्षपछि एक सफल खेलाडीको बजार मूल्य बिस्तारै घट्न थाल्छ । अहिले विश्वमा चर्चा कमाएका धेरै खेलाडीहरुको उमेर ३० कटिसकेको छ । जसमध्ये अधिकांश खेलाडी युरोपका शीर्ष क्लबहरूको प्रतिनिधित्व गर्छन् । ३८ वर्षभन्दा माथिका पाँचजना सबैभन्दा मूल्यवान खेलाडीहरुको बारेमा चर्चा गरौँ ।

१. क्रिस्टियानो रोनाल्डोः (पोर्चुगल, अल नासर) ३८ वर्ष

३८ वर्षभन्दा माथिको मूल्यवान खेलाडीहरुको सूचीमा सबैभन्दा पहिलो नम्बरमा पोर्चुगल तथा हालै साउदी क्लब अल नासरमा आबद्ध भएका ५ पटकका बालोन डी’ ओर विजेता क्रिस्टियानो रोनाल्डो आउँछन् । रोनाल्डोलाई खेल कौशल, अवार्ड तथा रेकर्डहरुका कारण सर्वकालीन महान खेलाडीका रुपमा चिनिन्छ । गत जनवरीमा म्यानचेस्टर युनाइटेडसँगको सम्झौता आपसी सहमतिमा समाप्त गर्दै साउदी अरेबियाको क्लब अल नासरमा २ वर्षका लागि आबद्ध भएका रोनाल्डो प्रत्येक वर्ष साउदी क्लबबाट १७३ मिलियन डलर कमाउँछन् । फुटबल इतिहासमै रोनाल्डोले प्राप्त गरेको रकम सबैभन्दा बढी हो । यस सूचीको दोस्रो नम्बरमा रहेका ब्राजिलियन स्टार थियागो सिल्भाको भन्दा रोनाल्डो रकम झण्डै १० गुणा बढी रहेको छ ।

२. थियागो सिल्भाः ३८ वर्ष (ब्राजिल, चेल्सी)

थियागो सिल्भा वर्ष २०२० मा फ्रि ट्रान्सफर मार्फत इङ्लिस क्लब चेल्सीमा आवद्ध भएका हुन् । उमेरले ३८ वर्ष पुगिसकेका सिल्भाको खेल कौशललाई हेर्दा उनी भर्खर २२–२३ वर्षका जस्ता देखिन्छन् । सिल्भाले विश्वकै आक्रामक लिग इङ्लिस प्रिमियर लिगको सफल क्लब चेल्सीका लागि खेल्दै आफ्नो गहिरो प्रभाव छाड्न सफल भएका छन् । सिल्भा आफ्नो पुस्ताका उत्कृष्ट सेन्टर–ब्याकमध्येका एक हुन् । सिल्भा ३८ वर्षको उमेरमा पनि चेल्सीका लागि नियमित ११ खेलाडीहरुमा पर्छन । सिल्भाले जारी सिजन चेल्सीका लागि २४ खेल खेल्दै दुई गोलका लागि असिस्ट गरिसकेका छन् । सिल्भाले चेल्सीलाई प्रिमियर लिगको जारी सिजनमा ६ र च्याम्पियन्स लिगको दुई खेलमा एक गोल पनि विपक्षी खेलाडीलाई गर्न दिएका छैनन् । ब्राजिली स्टारको अन्तर्राष्ट्रिय बजार मुल्य २.५ मिलियन युरो रहेको छ ।

३. ज्लाटन इब्राहिमोविच ४० वर्ष (स्विडेन, एसी मिलान)

ज्लाटन इब्राहिमोभिचले जारी सिजन एसी मिलानका लागि एक खेल पनि खेलेका छैनन् । गत मे महिनामा घुँडाको शल्यक्रिया गराएका कारण उनी त्यसबेलादेखि मैदान बाहिर नै छन् । इब्राहिमोभिचले गत सिजन ४० वर्षको उमेरमा एसी मिलानका लागि सिरी ए को उपाधि जिताएका थिए । स्विडिस लिजेन्ड इब्राहिमोविच अहिले ४१ वर्षका छन् तर उनले ब्याबसायिक खेलबाट सन्यास लिएका छैनन् । रिपोर्टका अनुसार इब्राहिमोभिच फेब्रुअरी महिनाको अन्त्यमा टोलीमा फर्किने बताइएको छ । इब्राहिमोभिचलाई आधुनिक युगको सबैभन्दा उत्कृष्ट स्ट्राइकरमध्ये एक मानिन्छ । यतिमात्र होइन इब्राको विश्वभर ठूलो फ्यान फलोइङ पनि रहेको छ । अन्तर्राष्ट्रिय बजारमा इब्राहिमोभिचको बजार मूल्य २ मिलियन युरो रहेको छ ।

४. जोक्विन ४१ वर्ष (स्पेन, रियल बेटिस)

सन् २००० को दशकमा क्लब रियल बेटिसबाट व्यावसायिक फुटबलमा डेब्यु गरेका जोक्विनले बेटिसमा दुई दशक बिताए । त्यसपछि उनी अन्य तीन क्लबमा पनि खेलेका थिए । सन् २०१५ मा पुनः रियल बेटिसमै फर्कनुअघि जोक्विनले स्पेनी क्लब भ्यालेन्सिया, मालागा र फियोरेन्टिनामा पनि खेलेका थिए । ४१ वर्षीय जोक्विन अहिले रियल बेटिसका कप्तान पनि हुन् । क्लब बेटिससँग जोक्विनको सम्झौता यसै समर सिजनमा समाप्त हुँदैछ । जारी सिजन रियल बेटिसका लागि १३ खेल खेल्दै जोक्विनले एक गोल र एक गोलका लागि सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा जोक्विनको मूल्य डेढ मिलियन युरो रहेको छ ।

५. एन्ड्रेस इनिएस्टा ३८ वर्ष  (स्पेन, भिसेल कोबे)

एन्ड्रेस इनिएस्टालाई आधुनिक फुटबलमा सबै समयका उत्कृष्ट मिडफिल्डरमध्ये एकका रुपमा हेरिन्छ । पूर्व स्पेनी स्टार इनिएस्टाले वर्ष २००८ र २०१२ को बीच अन्तर्राष्ट्रिय फुटबलमा ठुलो प्रभुत्व जमाएका थिए । इनिएस्टाले वर्ष २०१० मा स्पेनलाई दक्षिण अफ्रिकामा सम्पन्न फिफा विश्वकपको ट्रफी र वर्ष २००८ र २०१२ मा स्पेनका लागि दुई युरोकप जिताएका थिए । इनिएस्टालाई आधुनिक फुटबल खेलमा सबैभन्दा प्राविधिकरुपमा पोख्त मिडफिल्डर पनि मानिन्छ । इनिएस्टाको ड्रिब्लिङ गर्ने कौशल र पासिङ् गर्ने क्षमता उदाहरणीय मानिन्छ । इनिएस्टा स्पेनको टिकीटाका शैलीका सबैभन्दा सफल खेलाडी थिए । ३८ वर्षका इनिएस्टा अहिले जापानी क्लब भिसेल कोबेबाट ब्यबसायिक फुटबल खेलिरहेका छन् । बार्सिलोना तथा स्पेनका पूर्व खेलाडी एन्ड्रेस इनिएस्टाको अन्तर्राष्ट्रिय बजार मूल्य १.२ मिलियन यूरो छ ।

Logo