सांसद भण्डारी र उनकी आमाको अवस्था जटिल, विदेश लगेर उपचार गर्न सिफारिस

सांसद भण्डारी र उनकी आमाको अवस्था जटिल, विदेश लगेर उपचार गर्न सिफारिस


ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई देश बाहिरका अस्पतालमा लगेर उपचार गर्न सिफारिस भएको छ ।

गए रातिदेखि उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर छिटो उपचार गर्न सिफारिस गरेका हुन् । सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको भएको छ भने उनकी आमाको करिब ७० प्रतिशत भाग जलेको छ ।

‘दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँको कारण जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ,’ चिकित्सकहरूले भनेका छन् । सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल र नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलगायतले अस्पताल नै पुगेर जानकारी लिएका थिए । गए राति सांसद भण्डारीको बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर बिस्फोट भएको थियो ।

Logo