सांसद भण्डारीलाई थप उपचारका लागि लगियो मुम्बई

सांसद भण्डारीलाई थप उपचारका लागि लगियो मुम्बई


ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईतर्फ लगिएको छ ।

कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचाररत रहेका सांसद भण्डारीलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि लगिएको हो । स्वास नलीमा जलनले असर र सुन्नीन सक्ने जोखिम भएकाले स्वास नलीमा पाईप राखी (ईन्टुबेसन गरी) अक्सिजन दिँदै चिकित्सकको टीमसहित रिफर गरिएकाे हाे । 

उपचारमा संलग्न चिकित्सकका अनुसार नेता डा. भण्डारीको अवस्था गम्भीर छ । उनको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि मुम्बईतर्फ लगिएको हो । 

बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र ८६ वर्षीया उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए ।  विस्फोटबाट जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेकी हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ ।

यसअघि सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री डा. शशांक कोइरालासहित विभिन्न राजनीतिक दलहरु नेताहरु, पूर्वमन्त्रीहरु, सांसदहरु सोही अस्पताल पुगेका थिए । 

Logo