सार्वजनिक सवारीमा दुई सिटमा एक यात्रु राख्ने सरकारको नियम कागजमा सिमित

सार्वजनिक सवारीमा दुई सिटमा एक यात्रु राख्ने सरकारको नियम कागजमा सिमित


काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चार महिनासम्म लगाएको लकडाउनले गर्दा सबै व्यापार व्यवसाय ठप्प रहेका थिए । व्यापार व्यवसाय लगायत यातायात क्षेत्र पनि ठप्प रहेका थिए । तर सरकारले लकडाउनको बीच अर्थात लकडाउनको करिब तिन महिनामा उद्योग व्यवसाय खुलेका थिए । तर सार्वजानिक यातायात भने सञ्चालनमा आएका थिएनन् । उद्योग व्यवसाय सञ्चालनमा आएको एक महिनापछि असार २६ गतेदेखि जिल्लाभित्रै सार्वजनिक यातायात सेवा संचालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारले विभिन्न मापदण्ड तथा प्रोटोकल बनाएको थियो । यी मापदण्डमा सार्वजनिक सवारी साधनलाई दैनिक जिवाणु रहित बनाउने, २ सिटमा १ जना राख्ने, गाडीमा मास्क अनिवार्य प्रयोग गर्ने, सेनिटाइजरको व्यवस्था गर्ने, सहचालक र चालकले पञ्जा र मास्क अनिवार्य रुपमा लगाउनुपर्ने लगायतका मापदण्ड बनाएर सार्वजनिक सवारी साधन संचालनमा ल्याउनु पर्ने व्यवस्था थियो ।

त्यस्तै, सवारीमा यात्रुलाई २ सिटमा १ जना राख्नुपर्दा व्यवसायी घाटामा जाने भन्दै साविकको भाडामा ५० प्रतिशत बढाएर लिनसमेत आग्रह गरेको छ । तर सरकारको दिएको अन्य कार्यविधि पालना नगरेपनि व्यवसायीले भाडा बढाउने कार्यविधि भने पूर्णरुपमा पालना भएको तर अन्य सामाजिक दूरी लगायतका नियम कागजमा नै सिमित भएको छ ।

सरकारले गत साउन ६ गतेदेखि लकडाउन अन्त्य गरेसँगै काठमाडौं उपत्यका लगायत देशभरमा कोरोना संक्रमित वृद्धि भईरहेको छ । तर सरकारका विभिन्न मापदण्डअनुसार सञ्चालन गर्नु पर्ने सार्वजनिक यातायात नियमअनुसार सञ्चालन गरेको पाइदैन् । सरकारले लगाएका नियमअनुसार सार्र्वजनिक यातायातले सिट क्षमताभन्दा बढी यात्रु बोक्न पाइन्दैन । तर, विभिन्न रुटमा चल्ने सवारीले सरकारले तोकेको भन्दा पनि दोब्बर लिने भाडा तर अन्य नियम भने पालना गरेका छैनन् । दुई सिटमा १ जना मात्रै राख्नु पर्छ तर सवारीहरुले पूरै सिटमा यात्रु राख्ने गरेका छन । सवारीका सह–चालकले यात्रुहरुलाई दुई सिटमा राख्ने तर यात्रुहरुले ट्राफिक प्रहरीले चेक गरे एउटै परिवारका सदस्य हौं भन्दै राख्ने गरेका छन् ।

त्यस्तैगरी, उपत्यकामा संचालित बसहरुमा न त जिवाणुरहित गर्ने कुनै काम गरिएको छ न सेनिटाइजर र मास्कको व्यवस्था गरेको छ । तर बसमा कोच्चिएर यात्रु राख्दा पनि सहचालकले बढी भाडा भने उठाउन छोड्दैनन । यस्तो बेलामा अझै व्यवसायीले लामो रुट तथा मध्यम रुटमा पनि सवारी साधन संचालन गर्ने वातावरण मिलाउन आग्रह गर्दै आएका छन् । अझै व्यवसायीहरुले सार्वजनिक सवारी साधनका लागि यात्रु नपुगेको गुनासो गर्दै आईरहेका छन् ।

सरकारले निर्णय गर्दा पनि विभिन्न मागहरु राखेर सार्वजनिक सवारी साधनहरु संचालनमा नल्याएका व्यवसायीहरुले विभिन्न छलफल पश्चात मात्रै संचालनमा ल्याएका थिए । आफ्ना सम्पूर्ण मागहरु पूरा नहुँदासम्म सवारी संचालनमा नल्याउने भन्दै धाक लगाउने यातायात व्यवसायी अहिले जनतालाई पहिलेझैं नै कोचेर पनि दोब्बर भाडा असुल्दै सुरक्षा मापदण्ड पालनामा वेवास्ता गरिरहेका छन् ।

जसले संक्रमण फैलने त्रासकै बीच सर्वसाधारण सार्वजानिक यात्रा गर्न चढ्न बाध्य भएका छन् । यसरी सार्वजनिक यातायात सञ्चालन हुदाँ अझ कोरोनाको जोखिम बढ्ने देखिएको छ ।

Logo