सांसद भण्डारीकाे घरमा सिलिन्डर विस्फोट हुनुअघि नै भएको थियो आगलागी

सांसद भण्डारीकाे घरमा सिलिन्डर विस्फोट हुनुअघि नै भएको थियो आगलागी


ग्यास सिलिन्डर लिक हुँदा भएको आगलागीमा परी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ। बुधबार राति बुद्धनगरस्थित घरमा भएको उक्त घटनामा परी सांसद भण्डारी पनि घाइते भएका छन् । उनको शरीरको करिव ३० प्रतिशत भाग जलेको छ। कीर्तिपुरको बर्न अस्पतालमा उपचार हुन नसकेपछि भण्डारीलाई भारतको मुम्बई लगिएको छ ।

कसरी भयो घटना ?

काठमाडौंको नयाँबानेश्वर, बुद्धनगरस्थित अढाई तले घरको भुईँ तलामा बस्थे चन्द्र भण्डारी र उनकी आमा।चन्द्र भण्डारी बुधबार राति नेपाली कांग्रेसका एक नेताको छोराको बिहेमा गएका थिए । उनी उतै खाना खाएर आउने भएकाले भान्सामा केही पाकेको थिएन । चन्द्र साढे ९ बजेतिर घर फर्किए । कांग्रेस नेता एनपी साउदले गाडीमा घरमै छोडेर फर्किएका थिए ।

बुधबार राति १० बजेतिर खाना पकाउने ग्यास सिलिन्डर लिक भएको कुरा सबैभन्दा पहिले आमा हरिकला भण्डारीले थाहा पाइन्। सिलिन्डरबाट ग्यास लिक भइरहेको थाहा पाएपछि उनले छोरा चन्द्र भण्डारीलाई तत्कालै बोलाएर भनिन्। त्यसपछि आमाछोरा नै किचनमा पुगे । किचनमा पुगेर नेता भण्डारीले बत्ती बाले । तर उनले बत्ती बाल्नु र सिलिण्डर विस्फोट हुनु एकै समयमा जस्तो भयो। ग्यास लिक भएर गइरहेका बेला आगलागी हुनासाथ सिलिन्डर विस्फोट भएको थियो। सिलिन्डर विस्फोट हुँदा आमाछोरा नै घाइते भए ।माथिल्लो तलामा भाइ हरिहरको परिवार बस्थ्यो । भाइ हरिहर र बुहारी दौडिँदै तल्लो तल्लामा झरे ।

उनीहरूका अनुसार भुइँ तल्ला धुँवाले भरिएको थियो । चन्द्र भण्डारी छटपटाउँदै प्यासेजतिर आए । आमा भान्सा बाहिरको एक कुनामा कपडा जलेको अवस्थामा लडिरहेकी थिइन् । नेता भण्डारी बत्ती बाल्न अलिक टाढा गएकाले उनको शरीरमा कम क्षति पुगेको छ । तर उनको तुलनामा आमाको शरीरधेरै जलेको थियो।

भान्सामा ग्यासको चुल्हो जस्ताको त्यस्तै छ । सिलिण्डरमा रेगुलेटर र पाइप पनि जोडिएकै अवस्थामा छ । चुल्हो बाहिर रहेको ग्यासको सिलिण्डर पनि राम्रै अवस्थामा थियो । भान्साको ढोका फुटेको छ । झ्यालको सीसा फुटेको छ । 
ग्याँस भएको बेला किन छुनु हुन्न बिजुलीको स्वीच ?

जिल्ला प्रहरी परिसर काठमाडौंले पहिले ग्यास लिक भएपछि विस्फोट भएको देखिएको बताएको छ ।

ग्यास लिक भएर कोठा भरिँदा बिजुली बत्ती बाल्न हुन्छ कि हुन्न भन्ने जनचेतना नभएकाले यस्ता आगलागी हुने जानकारहरु बताउँछन् ।धेरै मानिसलाई ग्यास भरिएको कोठामा बिजुली बत्ती बाल्दा स्पार्क भएर आगलागी हुन्छ भन्ने नै थाहा नभएको र कतिलाई चाहिँ बत्ती बाल्नु हुँदैन भन्ने थाहा भएपनि त्यस्तो अवस्थामा बत्ती निभाउनु पनि हुँदैन भन्ने थाहा नभएको उनीहरु बताउँछन् ।

कुनै कोठामा ग्यास भरिँदा त्यो हावासँगै बिजुलीको स्विचभित्र पसिसकेको हुन्छ। स्विच अन वा अफ गर्दा निस्कने स्पार्क (झिल्को) ले हामीले ग्यास जलाउँदा बाल्ने लाइटरले झैं काम गर्छ । ग्यास लिक भएको शंका लागेको कोठामा जाँदा बिजुली बत्तीको स्विच छुनुहुँदैन ।

Logo