‘कर्णाली उत्सव’ आजदेखि सुरु हुँदै

‘कर्णाली उत्सव’ आजदेखि सुरु हुँदै


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करण आजदेखि सुरु हुने भएको छ ।

उत्सवको आयोजक ऋति फाउण्डेसनले बिहीबार वीरेन्द्रनगरमा पत्रकार भेटघाटमार्फत फागुन ५–७ गतेसम्म हुने कर्णाली उत्सव चौथो संस्करण आजदेखि सुरु हुने बताएको हो । आयोजक संस्थाका संयोजक कमल लम्सालले सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रुपमा ‘कर्णाली उत्सव’ शृङ्खला भइसकेको बताए ।

संयोजक लम्सालले भने, “कर्णाली समृद्धिको सार्थक सपनाबारे बहस गर्ने सिलसिलामा हामीले विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौँ । मूलतः उपेक्षित, दुर्गम र अविकासको मानक बनाइएको कर्णालीका परम्परागत भाष्य र मानकलाई कसरी बदल्ने भन्ने बारेमा चर्चा गरिसकेका छौँ ।” कर्णाली उत्सवको सचिवालयका सदस्य माधवप्रसाद चौलागाईले तेस्रो संस्करणसम्म सम्पन्न भएको उत्सवले अमूर्त उपलब्धि प्राप्त गरेको र यसको प्रभाव विस्तारै देखिने बताए । “यो विचारको बहस हो”, सदस्य चौलागाईले भने, “यसबाट हामीमा साझा विवेक र चेतनाको विकास भएको छ ।”

उनका अनुसार कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको छ । उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले १६ भन्दा बढी सत्रमा ६० भन्दा बढी वक्ता बोल्ने कार्यक्रम रहेको बताए । उनका अनुसार आज बिहान ११ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उत्सवको उद्घाटन गर्ने छन् । उद्घाटनलगत्तै सुरु हुने पहिलो दिनको सत्रमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले चौथो संस्करणसम्म आइपुग्दा, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ‘हामी कसरी जोडियौँ ?’ भन्ने विषयमा आफ्नो प्रस्तुति राख्ने कार्यक्रम रहेको छ ।

तातोपानी निवासी नारायणी चौलागाईले कर्णाली उत्सवदेखि लाम्रा संवादसम्मको विषयवस्तु राखेपछि भने निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचन र लोकतन्त्रका विषयमा विद्वत प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Logo