न्युजिल्याण्डमा चक्रवातका कारण आठ जनाको मृत्यु

न्युजिल्याण्डमा चक्रवातका कारण आठ जनाको मृत्यु


न्युजिल्यान्डको उत्तरी टापुमा यस साता आएको चक्रवात ‘ग्याब्रिएल’का कारण आएको बाढी र पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । चक्रवात र यसका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा तीन हजार ५०० भन्दा बढी बेपत्ता भएका छन् ।

सन् २०११ को फेब्रुअरीमा क्राइस्टचर्चमा गएको भूकम्पपछि न्युजिल्यान्डमा अहिलेसम्म नदेखिएको उक्त प्रतिकूल प्राकृतिक घटनाका कारण करिब १० हजार मानिस विस्थापित भएको अधिकारीहरुले बताएका छन् । 

प्रधानमन्त्री क्रिस हिपकिन्सले शुक्रबार हक्स बेमा सञ्चारकर्मीसँग भने, “यो हाम्रो देशमा यो शताब्दीमा देखिएको सबैभन्दा ठूलो प्राकृतिक प्रकोप हो । आँधीका कारण धेरै नागरिकले ज्यान गुमाएको हुनसक्ने बताइएको छ ।” 

प्रहरीका अनुसार दुई वर्षीया बालिका बिहीबार बाढीमा फसेको अनुमान गरिएको छ । अकल्याण्डको मुरीवाईमा बिहीबार गएको पहिरोमा परेर एक स्वयंसेवक अग्निनियन्त्रकको शव पनि फेला परेको थियो । 

न्युजिल्यान्डका अन्य भागबाट ७० जनाभन्दा बढी कर्मचारीलाई हक्स बे र तायराविटीमा पुनः खटाइएको प्रहरीले जनाएको छ । “दूरसञ्चार सेवा हरू अनलाइनमा आउन थालेपछि हराएका व्यक्तिहरू, फेला परेका व्यक्तिहरू, सम्पत्तिको क्षति, खाद्यान्न, पानी र इन्धन जस्ता आधारभूत स्रोतहरूको मागको सङ्ख्यामा वृद्धि हुने प्रहरीको अनुमान छ,” प्रहरीले जनाएकोे छ ।

न्युजिल्यान्डले सोमबार देशको इतिहासमा तेस्रो पटक आपतकालीन अवस्थाको घोषणा गरेको छ । उत्तरी टापुमा व्यापक रूपमा विद्युत कटौती, उडान रद्द र विद्यालय हरू बन्द गरिएको छ ।

अकल्याण्ड र आसपासको क्षेत्र वाइकाटोमा भारी वर्षा र बाढीका कारण डुबानमा परेको दुई सातापछि मात्र यो घटना भएको हो । दुई साताअघि देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा भएको यस विपत्तिमा परी चार जनाको मृत्यु भएको थियो । -सिन्ह्वा

Logo