अनसनरत युवाका माग तत्काल पूरा गर्न सरकारसँग देउवाको आग्रह

अनसनरत युवाका माग तत्काल पूरा गर्न सरकारसँग देउवाको आग्रह


काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुगेका छन् ।

शतप्रतिशत पीसीआर परीक्षणको माग राख्दै अनसन बसिरहेका अभियन्ताहरुलाई समर्थन गर्न सभापति देउवा बसन्तपुर पुगेका हुन् । असार २३ गते सरकार पक्षसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अभियन्ताहरु अहिले बसन्तपुरमा अनसनरत रहेका छन् । अनसनरत युवाहरु भेटेपछि सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरे ।

पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिंदै उनले सरकारले तत्काल आफ्ना प्रतिनिधि पठाएर उनीहरुका माग पूरा गर्ने गरी समझदारी गर्न माग गरे । उनले भने, ‘‘हाम्रो पार्टीको ऐक्यवद्धता छ । उहाँहरुको मागलाई समर्थन छ । मान्छेलाई मर्न दिनु हुन्न । ओली सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्छ । सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गरिरहेको छ । यसको घोर भर्त्सना गर्दछु ।’’

यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विगत १५ दिनदेखि अनसनमा रहेका युवाहरुले उठाउँदै आएका मागहरु देश जनताको हितमा रहेको बताएका छन् । सरकारले आफ्ना प्रतिनिधि पठाएर उनीहरुले उठाएका मागहरु पूरा गर्नुपर्ने बताए ।

शतप्रतिशत पीसीआर परीक्षण हुनु पर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नु पर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो । कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख थियो ।

Logo