कालापानीमा भारतले अतिक्रमण गरेको नेपालका प्रधानमन्त्रीको भनाइपछि उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र राउतले त्यसमा प्रतिक्रिया दिएका छन् । उनले नेपालले कालापानी आफ्नो भएको दाबी गर्नु चिन्ताजनक भएको बताएका छन् । भारतको जमिन भारतसँगै रहने उनको भनाइ थियो ।

अहिले उठिरहेको विवादलाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने राउतको तर्क छ । नेपाल भारतको मित्रराष्ट्र भएकोले यो कुरालाई वार्ताद्वारा समाधान गर्न सकिने उनले बताए । साथै उनले नेपालको कार्यसंस्कृतिमाथि पनि प्रश्न उठाएका छन् । यसरी कुरा गर्ने नेपालको कार्यसंस्कृति भइनसकेको यस्ता किसिमका टिप्पणी नगर्न चेतावनी दिएका छन् । उनको आशय भारत ठूलो र शक्तिशाली देश भएकाले नेपालले जोरी खोज्न हुँदैन भन्ने थियो ।

भारतको नयाँ नक्सा जारी गरेपछि नेपालमा भारतविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । यसैबीच प्रधानमन्त्री ओलीले आइतबार कडा प्रतिक्रिया दिएका थिए । उनले कालापानी नेपालको भएको बताउँदै त्यहाँबाट भारतीय सेना तुरुन्त हट्नुपर्ने बताएका थिए । कालपानीलाई नेपाल, भारत र चीनको त्रिदेशीय सीमा भन्दै आएको छ ।

भारतले हालै जम्मू–कश्मीर र लद्दाखलाई नयाँ केन्द्र शासित प्रदेश बनाएपछि नयाँ नक्सा जारी गरेको थियो । भारतले जारी गरेको नक्सामा कलापानी क्षेत्र भारतको उत्तराखण्ड राज्यमा देखाइएपछि नेपालबाट विरोधको क्रम बढेको हो ।

यसअघि भारतका परराष्ट्र मन्त्रालय प्रवक्ता रविस कुमारले सार्वजनिक नक्साले भारतको स्वायत्ततालाई देखाएको बताउँदै नेपालसँगको सीमामा कुनै पनि परिवर्तन नगरिएको भन्दै त्यो पुरानै भएको बताएका थिए ।