सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट छ -प्रधानमन्त्री प्रचण्ड

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट छ -प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन् । 

आईतवार राष्ट्रिय समाचार समिति (रासस) को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले २१औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे । विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चारमाध्यमले पनि सञ्चारमाध्यमहरुलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक गर्न आवश्यक रहेको उनले बताए । 

प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताए । उनले कुनैपनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु भएको उल्लेख गर्दै लोकतान्त्रिक शासन प्रणाली भए मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको बताए । 

प्रधानमन्त्री प्रचण्डले पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकासालई लिएर चौथो औद्योगिक क्रान्तिको रुपमा संश्लेषण गर्न थालेको बताए । 

Logo