प्रजातन्त्रलाई नाममा मात्र सिमित राख्ने कि जनतालाई मलम पनि लगाउने ?

प्रजातन्त्रलाई नाममा मात्र सिमित राख्ने कि जनतालाई मलम पनि लगाउने ?


नेपालमा जहानीया राणा शासन अन्त्य भएको दिन हो आज । राणा शासकहरुको १०४ वर्ष लामो शासनलाई बिदा गरी देशमा ‘प्रजातन्त्रको जग हालेको दिन हो २००७ फागुन ७ गते । त्यसैले यो दिनलाई गर्वका साथ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ भन्ने गरिएको छ । 

नेपालमा विगतका दिनमा यो दिनको विशेष महत्व रहेको थियो । तर २०६३ बैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन केही ओझेलमा परेको धेरैले अनुभव गरेका छन् । अब ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ले स्थान लिएको छ । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै पनि गएको छ । शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त हुन नसकेको राजनीतिक वृत्तमा चर्चा हुनेगरेको छ । वास्तवमा नेपालको राजनीतिक र शासकीय इतिहासमा प्रजातन्त्र दिवसको बेग्लै महत्व रहेको छ । २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा चलेको सशस्त्र क्रान्तिले उग्र रुप लिएसँगै अन्तिम राणा शासक मोहन शमशेरले घुँडा टेकेपछि नेपालमा प्रजातन्त्रको उदय भएको हो ।

राणा शासकद्वारा प्रताडित जनताले स्वतन्त्रताको सास फेर्न पाए । प्रजातन्त्रसँगै आफूलाई लागेका विषयमा खुला रुपले बोल्न पाए । त्यहीकारण आजको दिनलाई प्रजातन्त्र दिवसको रुपमा ७३ वर्षदेखि मनाइन्छ । प्रजातन्त्रकै लागि लडेका शहीदको सम्झनामा माघ १६ मा शहीद दिवस पनि मनाउने परम्परा रहिआएको छ । फागुन ७ गते तिनै वीर शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा यो दिवस विशेष रुपमा मनाउने गरिएको हो । 

नेपालमा पटक पटक व्यवस्था परिवर्तन हुने गरेको छ तर नेपाली नागरिकले प्रजातन्त्रको निर्वाध उपभोग गर्न भने पाएका छैनन् । ३० वर्षे पञ्चायती व्यवस्था पनि राणाशाही जस्तै सावित भयो । जनताले सशक्त विद्रोह गरे र जनआन्दोलनको उभार ल्याए । फलस्वरुप २०४६ सालमा लोकतन्त्रको स्थापना भयो । लोकतन्त्रको स्थापनापछि पनि मुलुकको राज्य व्यवस्था जनचाहना बमोजिम चल्न सकेन । संसदीय विकृति विसंगति बढ्दै जाँदा व्यवस्था नै निरंकुश राजतन्त्रको निशानामा पर्यो । र शाही-कू पुन निरंकुशताको अभ्याश भयो । राजाको हातमा पुगेको लोकतान्त्रिक व्यवस्थाको पुन प्राप्तिका लागि जनता सडकमा आउन बाध्य भए । माओवादीको सशस्त्र संघर्ष र सातदलीय सडक आन्दोलनको बलमा २०६२/६३ सालको जनआन्दोलनपछि नेपालमा पुन लोकतन्त्रको बहाली भयो । अन्तत मुलुक गणतन्त्र नेपालको चरणमा प्रवेश गर्यो । 

नेपालमा प्रजातन्त्र स्थापना यताको ७ दशक विभिन्न आरोह अवरोह हुँदै आजको अवस्थामा आइपुगेको हो । यसबीचमाराजनीतिक दलहरुको आपसी खिँचातानी र अस्वस्थ प्रतिस्पर्धाका कारण जनता साँढेको जुधाइ बाच्छाको मिचाइमा परे । आम नेपालीले देखेका सपनाहरु पूरा हुन सकेनन् । प्रजातान्त्रिक मूल्य मान्यताको पालनासहित जनताका आधारभूत आवश्यकता पूरा गर्नभन्दा सिमित व्यक्ति र वर्गको हितमा यो व्यवस्थाको दुरुपयोग भएको आम नागरिकको गुनासो रहँदै आएको छ । 

प्रजातन्त्रको दुहाइ दिई देशलाई अस्थिर बनाउने अनि विभिन्न पक्षले स्वार्थका रोटी सेक्ने काम भएकोले देशभित्र गरिखाने माहोल समेत बन्न नसकेको सर्वसाधारणको गुनासो छ । बोल्न पाउने, आन्दोलन गर्न पाउने, लड्न पाउने तर गरिखान नपाउने यो कस्तो अपूरो प्रजातन्त्र ? भन्ने जनआक्रोश शान्त हुन सकेको छैन । 

देशमा ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहँदा आम नेपाली नागरिकले फेरि एक पटक सुशासन र समृद्धिको सपना देखेका छन् । देशभित्रै गरिखाने अवस्था छिट्टै आवोस् भन्ने उनीहरुको कामना रहेको छ । सबै किसिमका असहमतिहरु हटाइ पारस्परिक मेलमिलाप सहित समुन्नत नेपालको मार्ग चित्र कोर्ने अवस्था सिर्जना होस् भन्ने जनचाहना पनि बढेको छ ।

Logo