मुस्लिम धर्मावलम्बीहरु आज हर्षोल्लासका साथ बकर इद मनाउँदै

मुस्लिम धर्मावलम्बीहरु आज हर्षोल्लासका साथ बकर इद मनाउँदै


काठमाडौं ।

मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । विगत वर्षहरुमा बकर इदको दिन दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरेको भए पनि यो वर्ष भने सुनसान देखिएको छ । विश्वव्यापी बनेको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मुस्लिम समुदायले घरघरमै नमाज पढेर बकर इद बनाउँदै छन् ।

राष्ट्रिय मुस्लिम आयोगले बकर इदमा घरघरमै बसेर नमाज पढ्न आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले सबै पक्षसँग सल्लाह गरी घरघरमै नमाज पढ्न आग्रह गर्ने निर्णय गरिएको बताए । वर्षमा एकपटक मात्रै आउने पर्व भएकाले केही असहज भए पनि देशवासीका लागि यो कदम चालिएको उनले बताए ।

इदका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द रहेको छ । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमान धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।

Logo