नेपाल र स्कटल्याण्ड खेल्दै

नेपाल र स्कटल्याण्ड खेल्दै


आईसीसी विश्वकप लिग–टू अन्तर्गतको नेपाल सिरिजको अन्तिम खेलमा घरेलु टोलीले मंगलबार स्कटल्याण्डसँग खेल्दैछ ।

भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी लिग-टू अन्तर्गतको नेपाल त्रिकोणात्मक सिरिजको यो अन्तिम खेल हो । विश्वकप लिग–टूको बिजेता बनिसकेको स्कटल्याण्डविरुद्ध नेपालको खेल टियु मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । २०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डले मंगलबार आफ्नो अन्तिम खेल खेल्दैछ । तीन खेल बाँकी रहदै लिग–टू को च्याम्पियन बनेको स्कटल्याण्डले मंगलबारको नेपालको खेल पछि नै लिग–टू ट्रफि पाउने छ ।

शुक्रबारको पहिलो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको नेपाल मंगलबारको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहान्छ । यदी यो खेल जितेमा नेपालले केही कीर्तिमान बनाउने छ । नेपाल २०१९ देखि सुरु आईसीसी विश्वकप लिग–टूमा आफ्नो घरेलु भुमीमा आयोजित एक त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बन्नेछ । मंगलबारको खेलमा स्कटल्याण्डलाई पराजित गर्न सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ । मंगलबारको खेल जितेमा विश्वकप लिग–टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि नेपाल बन्नेछ ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ९ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ । शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउँन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ । स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्डले गत बुधबार नामिबियासँगको जितसँगै ३ खेल अगावै विश्वकप लिग टूको च्याम्पियन बनेको थियो । जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत स्कटल्याण्डले स्थान पक्का गरिसकेको छ । 

Logo