न्युजिल्याण्डका चक्रवात प्रभावित क्षेत्रमा पुनर्निर्माण थाल्न मन्त्रीहरू नियुक्त

न्युजिल्याण्डका चक्रवात प्रभावित क्षेत्रमा पुनर्निर्माण थाल्न मन्त्रीहरू नियुक्त


न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले  चक्रवात गेब्रियलबाट भएको क्षतिको मूल्याङ्कन, पुननिर्माणलगायत समन्वयात्मक कामका लागि मन्त्रीहरू नियुक्त गरेका छन् ।
 
प्रधानमन्त्री हिप्किनसले अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई प्रतिकूल मौसमबाट भएको क्षतिको आकलन एवम् पुनःप्राप्तिका समितिको अध्यक्षमा नियुक्त गरेका छन् भने चक्रवात ग्रेबिएलबाट भएको क्षतिको विवरण सङ्कलन एवम् पुनर्निर्माणका कामको नेतृत्व पनि उनले गर्नेछन् । उनका सहयोगीका रूपमा बारबरा एडमन्ड्सलाई नियुक्त गरिएको छ । 

समितिको सदस्यमा स्वयम् प्रधानमन्त्री हिप्किन्स र आपत्कालीन व्यवस्थापनमन्त्री किरन म्याकअनल्टी सदस्य रहेका छन् ।

गत साता आएको चक्रवातमा परी ११ जनाको मृत्यु भएको छ भने तीन हजार दुई सयभन्दा बढी बेपत्ता भएका छन् । प्रधानमन्त्री क्रिस हिपकिन्सले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने बताएका छन् । साथै उनले पुननिर्माणका निम्ति करिब १३ अर्ब न्युजिल्याण्ड डलर आवश्यक पर्ने बताएका छन्। 
 
स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार साँझसम्म तीन हजार दुई सय  जना सम्पर्कविहीन भएका थिए भने २० हजारभन्दा बढी घर र व्यवसाय विद्युत्विहीन बनेका थिए । धेरै स्थानमा सम्पर्क विच्छेद भएकाले वेपत्ता भएकाको सङ्ख्या अझ बढी हुने अनुमान प्रहरीले गरेको छ । हक्स वे र ताइराविटी क्षेत्रका धेरै मानिस हराएका छन् । 

प्राकृतिक विपत्तिबाट करिब दश हजार सर्वसाधारण विस्थापित भएका छन् । सन् २०११ को फेब्रुवरीमा क्राइस्टचर्च भूकम्पपछि न्युजिल्याण्डमा अति धेरै सर्वसाधारण विस्थापित भएका हुन् । प्रधानमन्त्री हिपकिन्सले चक्रवात गेब्रियल यो शताब्दीको सबैभन्दा भीषण प्राकृतिक विपत्ति परेको र त्यसले देशमा अकल्पनीय क्षति भएको बताएका छन् ।  

गत सोमबारदेखि न्युजिल्याण्डमा आपत्कालीन स्थिति घोषणा गरिएको छ । देशको इतिहासमा यो तेस्रो आत्पकाल हो । प्रतिकूल परिस्थितिका कारण हवाई सेवाका साथै विद्यालय पनि बन्द छन् । देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा तीन साताअघि मुसलधारे वर्षा हुँदा चार जनाले ज्यान गुमाएका थिए । 

Logo