‘बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालीरहेका छौँ’ -रुस

‘बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालीरहेका छौँ’ -रुस


रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ । अमेरिकी राष्ट्रपतिको युक्रेनको आकस्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मङ्लगलबार उनका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो ।

आज उनले पोल्याण्डको राजधानी वार्सामा युक्रेन युद्धलाई लिएर मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । 

“स्वाभाविक रूपमा हामीले अमेरिकी राष्ट्रपतिको भ्रमणई नजिकबाट नियालीरहेका छौँ, आज पोल्याण्डमा के हुन्छ भन्नेमा पनि हामी उत्सुक छौँ, त्यसलाई नजिकबाट नियाली रहेका छौँ,” युक्रेनलाई हतियार आपूर्ति गर्ने अमेरिका र उसका सहयोगीको चाल बुझिरहेको उल्लेख गर्दै क्रेमलिनका दिमित्री पेस्कोभले रूसी टेलिभिजनमा भनेका छन् । 

यसअघि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध रुसले अपराध गरेकाले उसलाई दण्ड दिनुपर्ने बताएकी थिइन् । 

रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उपराष्ट्रपतिले  हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरेकी थिइन् । रुसी सेनाले युक्रेनमा युद्ध अपराध गरेको र अपराधीहरूलाई आफ्ना सहयोगीसँग मिलेर कारबाही गर्ने वाइडेन प्रशासनले गत मार्चमा औपचारिक रूपमा बताएको थियो ।

रुसी अधिकारीहरूले युक्रेनबाट बालबालिकासहित हजारौँ मानिसलाई जबरजस्ती निर्वासनमा जान बाध्य, पारेको बालबालिकाहरूलाई निर्ममतापूर्वक परिवारबाट अलग गराइएका धेरै प्रमाण अमेरिकासँग रहेको उपराष्ट्रपति ह्यारिसले बताएकी थिइन् ।  -एएफपी

Logo