ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता


ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरूलाई आवश्यक राजदूतावास इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

बिहीबार बैंकको कर्पोरेट कार्यालयमा उक्त सम्झौता कार्यान्वयन गर्न एक समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोजकुमार दासले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौताअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघअन्तर्गतका संघका सदस्यहरूले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने कार्यको लागि अनिवार्य पर्फमेन्स बोन्डको लागि नेपालस्थित भारतीय राजदूतावासको नाममा जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण प्रयोजनका लागि बैंकको जुनसुकै शाखाबाट सहुलियतपूर्ण ढंगले पर्फमेन्स बैंक जमानत सुविधा प्राप्त गर्न सक्नेछन्।

मुलुकको सबै वित्तीय सूचकांकमा पहिलो बैंकले ३६५ शाखा कार्यालय, ३६७ एटिएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

Logo