८१ वर्षीय बाबुलाई किन आफ्नै छोरीले पुर्‍याइन् सडकमा ?

८१ वर्षीय बाबुलाई किन आफ्नै छोरीले पुर्‍याइन् सडकमा ?


भनिन्छ, छोराछोरी भविष्यका सहारा हुन् । छोराछोरीको भविष्य बनाउन आमा बाबुले केही कसुर छाड्दैनन् । तर, कुन बुवा आमाले सोचेका हुन्छन् आफ्ना छोराछोरी नै दुश्मन होलान् भनेर ? कदापि हुँदैनन् । तर, धुम्बाराहीमा बस्ने सर्वजित तामाङलाई अहिले आफ्नै छोरीले घर न घाटको बनाएकी छिन् । अहिले उनी घरबार विहीन् भएका छन् । 

सर्वजित सिंङ तामाङ अहिले ८१ वर्षका भए । उनले २ वटी विवाह गरे । पहिली श्रीमतीको १ वर्ष अघि निधन भयो । जेठी पट्टिकी एउटी छोरी छिन् । तामाङलाई अहिले उनैले हेरचाह गरिरहेकी छिन् । तामाङलाई सघाउन छोरीले नजिकैकी एक महिला कामदार राखिदिएकी छन् । 

के हो मुद्धाको विषय ?
सर्वजित सिंह तामाङ थाई एयरवेजका पूर्व कर्मचारी हुन् । उनले त्यहाँ ६७ वर्षको उमेरसम्म काम गरे । कान्छी श्रीमतीका २ जना छोरी हुन् । उर्गेन र कुशुम तामाङ जेठी पट्टिकी छोरी र कान्छीकी एउटी छोरीको विवाह भैसक्यो । कान्छी छोरीलाई पनि उनले आफूले सकेको जति शिक्षा हासिल गराइदिए । कम्पनीबाट आएको पैसाले देश विदेश घुमाई दिए । त्यति मात्र होइन उनले कान्छी छोरीलाई यति माया गर्थेकी उनले छोरीको नाममा घर नै किनिदिए । तर, त्यो सबै कुरा छोरीले अस्विकार गरेको भन्दै तामाङ भन्छन्, ‘मैले एयरवेजमा काम गर्दा फ्रि टिकट लिएर युरोप तिर छोरीलाई धेरै घुमाएँ । उताबाट फर्केपछि उसका पनि केही सपनाहरु पूरा होउन् भनेर प्रभु फाइनान्समा घर जग्गा धितो राखेर ३ करोड ८० लाख रुपैयाँ ऋण लिएर, पहिलाको घर बेचेर यहाँ भएको घर किनिदिए । ६७ सालमा म जागिरबाट रिटार्ड भएको त्यो समयसम्म त सबै राम्रै थियो । देश विदेश सबै घुमाईदिएँ, नेपाल आएर घर बनाइदिएँ, उसैको नाममा पास गरिदिए । उसको नाममा रहेको घर ७२ सालमा बेच्छु भनी, त्यहीँ विषयमा मुद्धा चल्न थाल्यो ।’, तामाङले भने । 

खाइ नखाई दु:ख गरेर जोडिदिएको घर उनकी कान्छी छोरी कुसुमले बुवालाई थाहै नपाई आफ्नै घरको तल्लो तलामा बस्ने मानिसलाई बेचिदिइन् । बुवाले पटक–पटक रोक्का गरेपनि के लाग्थ्यो र आखिरमा उनले बेचि छाडिन् । तामाङ भन्छन्, ‘७२ सालमा जब उसले घर बेच्छु भन्यो तबदेखि मुद्धा चलेको हो । मिलापत्र गरौं भन्दा मान्दिन । वकिलले मिलापत्र गर्दा बाउँको बस्ने बन्दोबस्त गर्नुपर्छ भनेको थियो । म पनि त्यो कुरामा सहमत थिएँ । तर, मलाई कोठाभाडा पनि दिइएन । पहिला ७२ सालसम्म ढेड लाख–ढेड लाख भाडा खाइरहेको थिएँ । तर, पछि नत भाँडा नै दिएकी छ नत बस्ने बास । अहिले त म घर न घाटको भएको छु ।’ 

पहिले सबै राम्रै भएपनि पछि सम्बन्धमा चिसोपन आएको सर्वजित बताउँछन । यसमा आमाले छोरीलाई बिगारेको पनि उनको भनाइ छ । आफ्नै घरमा बस्नेलाई घर पास गर्न लागेको थाहा पाएर रोकेको तर पछि बिक्री गरेको तामाङले बताए । 

छोरी कुशुमलाई परिवार सबैले मिलौं भनेको तर उनी मिल्न नचाहेको पनि सर्वजितको भनाइ छ । अहिले बाबुको खान पान र बासको केही वास्ता छैन । उनकी जेठी छोरी उर्मीलाले भने उनलाई सहयोग गरिरहेकी छिन् । कुशुम प्रभू फाइनान्सको उच्च तहमा काम गर्छिन् । ०७२ सालदेखि तामाङले कुशुमलाई भेटेका छैनन् । उनले छोरी कुशुमलाई मिल्न त बोलाउँछन् तर उनी आउन चाहन्नन् । 

यस्तो छ बुवाको छोरीसँग माग
‘प्रभू फाइनान्सबाट ऋण लिएको ३ करोड ८० लाख रुपैयाँ आफैलाई दिन वा घर भाडा बापत आएको पैसा दिनुपर्ने माग बाबु सर्वजित तामाङको छ । तामाङ अहिले उनीसँग भएका प्रमाणहरु देखाएर न्यायको लडाइँमा अघि बढेका छन् । सर्वजितले आफ्नो न्यायका लागि प्रधानमन्त्रीलाई समेत निवेदन लेखिसकेका छन् । 

यस्तो छ, उनको निवेदनको पूर्णपाठ-

श्री सम्माननीय प्रधानमन्त्रीज्यू 
प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं
विषय : न्यायको याचना गरिएको बारे ।
महोदय,
म निवेदक सर्वजीत सिंह तामाङ ८१ वर्षीय ज्येष्ठ नागरिक हुँ । म अन्यायमा परेकोले तपसील बमोजिमको व्यहोरा खुलाउँदै न्यायका लागि यो पत्र लेख्दै गुहार मागेको छु ।
१. मेरा दुई श्रीमतिमध्ये जेठी श्रीमतिबाट एक छोरी र कान्छीबाट दुई छोरी गरेर तीन जना छोरी छन् । जेठी श्रीमतिको एक वर्षअघि निधन भएको हो । कान्छी श्रीमति पहिले नैं पोइल गएकी थिइन् । छोरीहरू आआफ्नो बाटो लागि सकेको कारण म ज्येष्ठ नागरिक अहिले एकल रुपमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएको छु ।
२. मेरा तीन छोरीमध्ये जेठीबाट उर्मिला तामाङ (सबैभन्दा जेठी) र कान्छीबाट उर्गेन तामाङ र कुसुम तामाङ (कान्छी) छोरी छन् । कुसुम लामा प्रभु ग्रुपअन्तर्गतको उच्च ओहदामा कार्यरत छन् । बौद्धमा बस्ने जेठी छोरी उर्मिलाले कहिलेकाँही आएर मेरो हेरविचार गर्ने गर्दछिन्।
३. मेरो जीवनको महत्वपूर्ण समय थाइ एयरवेजको सेवामा बित्यो । थाइ एयरवेजमा भएको कमाइले मैले केही सम्पत्ति जोडेको थिएँ । काठमाडौंको गैरीधारामा जोडेको घरजग्गासमेत बेचबिखन गरी मैले काठमाडौं ४ धुम्वाराहीस्थित घर बनाएको थिएँ । त्यो घर मैले प्रभु बैंकबाट ऋण लिएर बनाएँ । सो ऋण मैले चुक्तासमेत गरेँ ।
४. जीवनमा पारिवारिक खुसी नै सबैभन्दा ठूलो सन्तुष्टि हो । त्यही ठानेर मैले १० वर्षअघि सो घर कान्छी छोरी कुसुम लामा तामाङको नाममा राखेको थिए । किसिमले सहयोग गरेँ । जागिरमा रहँदा युरोप घुमाउन लगें । एउटा विश्वासले मैले कुसुमको नाममा घर राखिदिएँ । तर मेरो जीवनमा तिनै छोरीले घात गरिन् । मलाई थाहै नदिइ सो घरजग्गा बेचिदिइन् । पाँच करोड ६० लाख रुपैयाँमा म बसिरहेको घर एकलौटी रुपमा बेचिदिइन् । मसँग त्यो घरबाहेक कुनै अचल सम्पत्ति छैन । सोही घरको पाचौं तलामा म रहँदै आएकोमा सामान्य केही फर्निचर, लत्ताकपडा र किचेनका सामग्रीबाहेक म सँग केही छैन । सो घरको सुरुको दुई वर्षको भाडा मैले पाएको थिएँ । करिव ८ वर्षदेखिको करिव एक करोड जति घर भाडा मैले पाएको छैन । यतिबेला म घर न घाटको जस्तै भएको छु । आफैले दुख गरेर छोरीको नाममा किनेर राखेके घर अमानविय तरिकाले सडकमै पुग्ने गरी बेचिदिँदा म शारिरिक रुपमा कमजोर र मानसिक रुपमा पनि विछिप्त भएको छु ।
५. आफ्नै सन्तानबारे यी शब्द लेखिरहँदा मलाई अत्यन्तै पीडा महशुस भइरहेको छ । तर नियति यही हो । समय र नियतिले मलाई यो उमेरमा करिब आधा दर्जन मुद्दाको बोझमा जकेडेको छ । म कानुन जान्दिनँ ।
यहाँ मैले भनेको सबै हुनैपर्छ भन्ने छैन । तर मैले न्याय पाउनु पर्छ । मैले जोडेको घर मेरो सहमति बिना बेचबिखन हुन सक्दैन । मैले बनाएको घरको भाडा मैले पाउनुपर्छ ।
६. यतिबेला मेरो घरमा अनधिकृत मानिसहरू आउने तथा थर्काउने गरिरहेका छन् । महानगरिय प्रहरी बृत्त महाराजगञ्जको क्षेत्राधिकारमा पर्ने मेरो घरमा गुण्डाहरु प्रयोग गर्ने, अनधिकृत रूपमा जोकोहीलाई भाडालगाउने जस्ता क्रियाकलाप भइरहेका छन् । म बुढोलाई मानसिक तनाव दिने काम भइरहेको छ । यस्तो अवस्थामा मर्ने कि न्यायका लागि गुहार्नेबाहेक मसँग अरू कुनै बाटो भएन । कानसमेत कम सुन्ने म बुढो न्यायको भिख माग्दै यो पत्र लेख्दै छु । कृपया न्याय गरी म बृद्धको उद्दार गरिदिनु हुनेमा आशावादी छु ।
सर्वजीत सिंह तामाङ
ज्येष्ठ नागरिक (८१ वर्ष)
काठमाडौं ४, धुम्वाराही (पिपलबोट नजिक)

Logo