आजदेखि होली सुरू, बसन्तपुरमा चीर ठड्याइयो

आजदेखि होली सुरू, बसन्तपुरमा चीर ठड्याइयो


काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ ।

वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरू भएको मान्ने गरिन्छ । सोमबार बिहान पौने ८ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरू भएको जनाउ दिएका हुन् ।

आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरू भएको जनाउ दिने गरिन्छ । चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा ठड्याइएको बताए ।

उनले चीर ठड्याइसकेपछि विधिवत रुपमा होली पर्व सुरू भएको मानिने बताए । उनले भने, ‘चीरको महत्व परापूर्वकालदेखि नै छ । असत्यमाथि सत्यको जितको रुपमा मनाउने गरिन्छ । यो ठड्याइसकेपछि विधिवत रुपमा होली सुरू हुन्छ । यो चीर मानन्धर समुदायले ठड्याउँदै आउनुभएको परम्परा हो ।’

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

Logo