सरकारमा मन्त्री पठाउन शीर्ष नेताको दौडधुप, अर्थमा एसको दाबी

सरकारमा मन्त्री पठाउन शीर्ष नेताको दौडधुप, अर्थमा एसको दाबी


गत पुस १० मा बनेको गठबन्धन भत्किएर बनेको नयाँ गठबन्धन दलका नेताहरुले सरकारमा मन्त्री पठाउन दौडधुप सुरु गरेका छन् । 

नयाँ गठबन्धनबाट नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी लगायत दलका नेताहरु आफ्नो पक्षमा अर्थपूर्ण मन्त्रालय पार्ने प्रयासमा जुटिसकेका छन् । यता नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने निर्णय गरिसकेको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले केन्द्रबिन्दुलाई जानकारी दिए ।

उनका अनुसार पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने बारेमा आन्तरिक छलफल भइरहेको छ । ‘हाम्रो पार्टीले दाहाल नेतृत्वको सरकारमा जाने निर्णय गरिसकेको छ,’ उनले केन्द्रबिन्दुलाई भने, ‘सरकारमा सहभागी हुँदा कुन कुन मन्त्रालय लिने भन्ने बारेमा पार्टी भित्र छलफल गर्दैछौँ ।’ 

नेकपा एसले अर्थ मन्त्रालयमा आफ्नो दाबी रहने जनाएको छ ।  उपमहासचिव खतिवडाका अनुसार एकीकृत समाजवादीलाई कुन कुुन मन्त्रालय दिने भन्ने बारेमा प्रधानमन्त्री दाहालसँग   छलफल भइरहेको छ । ‘एसलाई कुन कुन मन्त्रालय दिने भन्ने बारेमा प्रधानमन्त्रीसँग सामान्य छलफल भएको छ,’ उनले भने, ‘तर, कुन मन्त्रालय दिने भन्ने बारेमा टुंगो लगाउन बाँकी छ ।’ 

नेकपा (एमाले)का मन्त्रीले सोमबार मन्त्री पदबाट राजिनामा दिए पछि १६ वटा मन्त्रालय मन्त्रीविहीन बनेका छन् । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सरकारबाट मन्त्रीलाई फिर्ता बोलाई सकेका छन् । आफू नेतृत्वको सरकार गठन हुँदा समर्थन गरेका दलहरूले सरकार छोडेपछि प्रधानमन्त्री दाहालले नयाँ दलहरुलाई समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने र विश्वासको मत लिने तयारीमा जुटेका छन्  । 

मन्त्रीमण्डल विस्तार र विश्वासको मत लिने काम राष्ट्रपति निर्वाचन अघि गर्ने कि पछि गर्ने ? भन्नेमा सत्ता साझेदार दलहरूसँग प्रधानमन्त्री दाहाल छलफल गरिरहेका छन् ।

Logo