पृथ्वी शाह र उनको समूहमाथि ठगीसम्बन्धि चार मुद्धा चलाउन सीआइवीको सुझाव

पृथ्वी शाह र उनको समूहमाथि ठगीसम्बन्धि चार मुद्धा चलाउन सीआइवीको सुझाव


ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउनुपर्ने भएको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शाह, उनका भाई विजयविक्रम शाहसहितका समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखत सम्बन्धि कसूर, सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्धा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो । 

अमेरिकी नागरिकहरु ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । अनुसन्धानमा उनीहरुले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायतको कारोबारमा लगानी गरेको पनि खुल्न आएको सिआईवीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । 

सो घटनामा संलग्न पृथ्वीसहित ७ जना पक्राउ परेका छन भने अन्य १३ जना फरार रहेका छन । घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिलाई ७ वर्ष कैंद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था गरेको पनि प्रवक्ता थापाले बताए । उनले उनीहरुमाथि सहकारी ऐन अनुसार छुट्टै दण्डसजायको व्यवस्था पनि हुन सक्ने कानुनी व्यवस्था गरेको बताए । 

उनीहरुले ठगीबाट आर्जित रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ । उनीहरुविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दुतावासमार्फत् उजुरी दिएका छन । केही क्यानाडियन र बेलायती नागरिकहरु पनि उनीहरुबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ । 

उनीहरुले अमेरिकी नागरिकसँग अमेजनको विल भुक्तानी, एन्टी भाइरस अपडेटलगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए । ठगीमा पर्नेहरुमा प्रायः बृद्धबृद्धा रहेको पनि प्रवक्ता थापाले बताए । 

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम मध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरिदिएको पनि सिआईवीको अनुसन्धानमा उल्लेख गरिएको छ ।

Logo